• १८ फागुन २०८०, शुक्रबार

आरोहणमा कीर्तिमानको ओइरो

blog

राजु सिलवाल

गतका वर्षभन्दा यसपालि हिमाल आरोही पासाङदावा शेर्पा धेरै खुसी देखिनु हुन्छ । उहाँ धेरै बोल्नु त हुन्न तर हँसिलो अनुहारमा उहाँको यो खुसी प्रष्टै झल्कन्छ । हिमाल चढ्ने प्रायः विदेशीहरूका लागि उहाँले धेरै वर्षदेखि काम गर्दै आउनु भयो । यस पटक भने प्रसिद्ध गायक राजु लामालगायत नेपालीको पथप्रदर्शक बन्नु भयो । यही कार्यले उहाँमा अरू बेलाभन्दा धेरै खुसी छाएको हो । 

पथप्रदर्शकको काम गर्दा नेपाली आरोहीसँग बिना सङ्कोच खान, सुत्न पाइन्छ तर विदेशी आरोहीसँग यो सम्भव छैन । झन् यस पटक त सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्म सँगै जाँदा गायक राजु लामाले विभिन्न गीत गाएर सुनाउनु भयो । सगरमाथा क्षेत्रमै गायक लामाले आयोजना गरेको कन्सर्टमा पनि उहाँ सहभागी हुनु भयो । त्यसैले होला गायक लामाले गाउनुभएको ‘तिमीलाई देखेर हिमाल हाँसेछ, तिम्रो गीत सुनेर मुनाल नाचेछ’ बोलको गीत अहिले पासाङदावा हरक्षण गुनगुनाउनु हुन्छ । गायक लामाले पाँच देशका २७ जना आरोहीको टोलीमा रहेर सगरमाथा आरोहण गर्नुभएको थियो । उहाँले सगरमाथाको तेस्रो शिविर ६,५७४ मिटरको उचाइमा कन्सर्टको आयोजना पनि गर्नुभयो । 

गायक राजु लामाले पाँच देशका २७ जना आरोहीको टोलीमा रहेर सगरमाथा आरोहण गर्नुभएको हो । उहाँले सगरमाथाको तेस्रो शिविर ६,५७४ मिटरको उचाइमा कन्सर्टको आयोजना पनि गर्नुभयो ।  

सगरमाथा चढ्न सँगै जानुभएका शल्यचिकित्सक रामकुमार श्रेष्ठले करुणा अस्पतालमा निःशुल्क उपचारको बन्दोबस्त गरिदिएकोमा पनि पासाङदावा दङ्ग हुनुहुन्छ । हिमाल चढ्दै आए पनि काठमाडौँमा एउटा घडेरीसम्म जोड्न नसकेका पासाङदावालाई नेपाली आरोहीले पारिवारिक स्नेह प्रदान गरिरहेका छन् । आरोही सुरज पौडेलले त उहाँलाई काठमाडौँमा आफ्नै घरमा बस्न दिइरहनु भएको छ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पालाई पासाङदावाले पछ्याइरहनु भएको छ । पासाङदावाले यसपालि एकै हप्तामा दुई पटक सगरमाथाको शिखर चुम्नु भयो । उहाँको यो २४औँ र २५औँ पटकको सगरमाथा आरोहण हो तर सगरमाथा आरोहणमा कीर्तिमान कायम गर्नु आफ्नो लक्ष्य नभएको उहाँ बताउनु हुन्छ । उहाँले सन् १९९८ देखि सगरमाथाको आरोहण गर्दै आउनु भएको छ । 

थपिँदै विश्व कीर्तिमान 

कोभिडको कारण बन्दाबन्दी हुँदा सन् २०२० कोे वसन्त ऋतुमा पर्वतीय गतिविधि ठप्प भयो । यो बेला पर्वतीय गतिविधि ठप्प भएपछि विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पा काठमाडौँको कपनमा रहेको डेराबाट अनलाइनमा टुङ्गना बजाउन सिकाउन व्यस्त हुनुभयो । सन् २०२१ मा भने नेपाल सरकारले विशेष अनुमति दिएको बहराइनको राजकुमारको सगरमाथा आरोहण अभियानमा उहाँ सरिक हुनुभयो । यो अभियानमा उहाँले सगरमाथाको २५औँ पटक आरोहण गर्ने अवसर पाउनु भयो । 

सोलुखुम्बु, थामेका कामिरिता शेर्पा यसपालिको वसन्त ऋतुमा सबैभन्दा पहिले सगरमाथाको शिखरमा पुग्नु भएको थियो । सगरमाथा आरोहणका लागि जाने आरोहीहरूका लागि ‘रोप फिक्सिङ’ गर्ने टोलीको नेतृत्व गर्दै उहाँ सगरमाथाको शिखरमा पुग्नु भएको हो । ५२ वर्षीय कामिरिताको यो २६औँ पटकको सगरमाथा आरोहण हो । विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा शिखरमा पुग्ने आफ्नो पुरानो कीर्तिमान आफैँले भङ्ग गर्न उहाँ सफल हुनुभयो । 

वैशाख २४ गतेका दिन विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाको नेतृत्वमा नेपाली आरोहीहरूले सगरमाथाको शिखरसम्म ‘रोप फिक्सिङ’ गरेका थिए । यो टोलीमा रहेका ११ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । २६औँ पटक सगरमाथाको शिखरमा पुगेको तथा आठ हजार मिटरभन्दा अग्ला हिमालहरू ३९ पटक चढ्न सफल भएकोमा कामिरिता शेर्पालाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान गरेको छ । सन् १९९४ मा पहिलो पटक उहाँले सगरमाथा चढ्नु भएको हो । २१ पटकसम्म सगरमाथा चढ्नु भएका आपा शेर्पा अमेरिकामा बसोवास गर्न थालेपछि कामिरिताले बर्सेनिजसो विश्व कीर्तिमान कायम गर्दै आउनु भएको छ । 

सोलुखुम्बुको नाम्चेबजार नजिकै पर्ने थिसो निवासी निग्मानुरु शेर्पाले पनि यसपालि २४औँ पटक सगरमाथा चढ्नु भयो । उहाँले सन् २००० देखि हिमाल चढ्न थाल्नुभएको हो । यस पटक पासाङदावा शेर्पासँगै उहाँ शिखरमा पुग्नु भयो । निग्मानुरु विश्वमै धेरै पटक सगरमाथा चढ्ने आरोहीहरूमा तेस्रो बन्नुभएको छ । उहाँले सन् २००१ मा पहिलो पटक सगरमाथा चढ्नु भएको थियो ।

सगरमाथा आरोहणका लागि जाने आरोहीहरूका लागि ‘रोप फिक्सिङ’ गर्ने टोलीको नेतृत्व गर्दै कामिरिता शेर्पा सगरमाथाको शिखरमा पुग्नु भएको हो । ५२ वर्षीय कामिरिताको यो २६औँ पटकको सगरमाथा आरोहण हो ।                                                                      

यसैगरी, युद्धमा रहेको रसिया र युक्रेनबाट पनि आरोहीहरू नेपाल आई नेपाली भूमिबाट शान्तिको सन्देश विश्वलाई दिएका छन् । युक्रेनका एन्टोनिना साइमोइलोभा तथा रसियाका राउल एन्ड्रिस बिओची टोरिस सगरमाथाको शिखरमा पुग्न सफल हुनुभयो । यस आरोहण टोलीमा रहेका विभिन्न देशका १६ जना आरोहीहरू शिखर पुगेका थिए । यस्तै २३ जना नेपाली आरोहीले पनि सगरमाथाको सफल आरोहण गरेका थिए । रसियाली आरोहीले पनि नेपालका हिमालको सफल आरोहण गरेका थिए । रसियाबाट २० जना पुरुष र नौ जना महिला आरोही आएका थिए । जसमा १२ जना पुरुष र पाँचजना महिला आरोहीले सगरमाथा आरोहणका लागि अनुमति पाएका थिए । 

यस्तै, महिला आरोही ल्हाक्पा शेर्पा सगरमाथा १० चोटि पुग्न सफल हुनुभयो । सङ्खुवासभाकी ४८ वर्षीया ल्हाक्पा सगरमाथा आरोहण गर्ने देस्रो नेपाली महिला हुनुहुन्छ । उहाँले सन् २००० मा पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । तीनजना छोराछोरीकी आमा ल्हाक्पा अहिले अमेरिकामा बसोवास गर्नुहुन्छ । 

सन् २०२२ मा कतारमा फिफा विश्वकप फुटबलको आयोजना हुँदैछ । नेपाली पर्वतारोही नर्विन मगरले फिफा विश्वकपको रिप्लिका तथा फिफाका सम्पूर्ण सदस्य राष्ट्रहरूको झन्डा सगरमाथामा लगेर विश्वकप फुटबल आयोजनाको प्रचार प्रसारमा सहयोग गर्नुभएको छ । उहाँले आठ हजार मिटरभन्दा अग्ला सबै हिमालमा फिफा विश्वकपको रिप्लिका लैजाने लक्ष्य राख्नुभएको छ तर उहाँको यो कार्यलाई अखिल नेपाल फुटबल सङ्घले जुन प्रकारले सम्मान दिनुपर्ने हो, त्यो भने दिएको पाउन सकिएन । 

यसपालि दुईजना नेपाली चिकित्सकले पनि सरगरमाथाको आरोहण गरे । कोभिडको महामारीमा अग्र पङ्क्तिमा रहेर काम गरेका चिकित्सकदेखि एम्बुलेन्स चालकसम्मलाई आफ्नो आरोहण अभियानमा समर्पित गर्दै डाक्टर प्रीति भुसालले सगरमाथा आरोहण गर्नुभयो भने डाक्टर रामकुमार श्रेष्ठ पनि सगरमाथाको शिखर चुम्न सफल हुनु भयो । 

यस्तै, नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठ संसारका आठ हजार मिटरभन्दा अग्ला सातवटा हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बन्न सफल हुनुभयो । उहाँले जेठ १३ गते बिहान १० बजेर ३० मिनेट जाँदा संसारको पाँचौँ अग्लो ८,४६३ मिटर उचाइको मकालु हिमाल चढ्नु भयो । 

नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको उपलक्ष्यमा नेपाली तथा अमेरिकी आरोहीले नेपाल र अमेरिकाका हिमाल चढेका छन् । नेपाल अमेरिका मैत्री टोलीका सदस्यहरूले अमेरिकामा रहेको माउन्ट डेनालीमा नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्धको हीरक महोत्सवको झन्डा फहराएका थिए । टोलीका सबै सदस्यहरूले उत्तरी अमेरिकाको सबैभन्दा अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेका थिए जुन समुद्री सतहबाट ६,१९० मिटरको उचाइमा छ । यसअघि गत वैशाख ३१ गते नेपाली आरोही पासाङफुर्वा शेर्पाले सगरमाथाको चुचुरोमा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको उपलक्ष्यमा यी दुई मुलुकका झन्डा फहराएका थिए ।

एकजना नेपालीले भने यस पटक ११ हजार अमेरिकी डलर तिरेर सगरमाथा चढे । नेपालमा जन्मेर अमेरिकाको क्यालिफोर्नियामा बसोवास गरिरहनुभएका २३ वर्षीय तेन्जिङजाङ्बु शेर्पाले सगरमाथा चढ्न यो राजस्व तिर्नुभएको हो । उहाँ नेपालका विख्यात पर्वतारोही आङरिता शेर्पाका नाति हुनुहुन्छ । ‘हिमचितुवा’ पनि भनेर चिनिने आङरिताको निधन २०७७ साल असोज ४ गते ७२ वर्षको उमेरमा भएको थियो । आङरिताले कृत्रिम अक्सिजनको प्रयोगबिना १० पटक सगरमाथा चढ्नु भएको थियो । उहाँका नाति तेन्जिङजाङ्बुले सगरमाथाको शिखरमा बाजे आङरिताको तस्बिर राखेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । तेन्जिङजाङ्बुसँग उहाँको मामा नाता पर्ने फुर्वातेन्जिङ शेर्पा जानु भएको थियो । फुर्वाको यो १५औँ पटकको सगरमाथा आरोहण हो । फुर्वाका आठ जना दाजुभाइ तथा दिदीबहिनी सबैले सगरमाथा चढिसकेका छन् । 

वरिष्ठ अधिवक्ता विष्णु भुसालले ६२ वर्षको उमेरमा सगरमाथा चढ्नु भयो । उहाँ सगरमाथा चढ्ने पहिलो अधिवक्ता भएको दाबी गरिएको छ । उहाँले सगरमाथाको शिखरमा नेपाल बार एसोसियसनको लोगो भएको झन्डा फहराउनु भएको थियो । संयोग कस्तो प¥योे भने उहाँकी छोरी डाक्टर प्रीति भुसालले उहाँभन्दा चार दिनअघि मात्र सगरमाथा चढ्नु भएको थियो ।

प्रसिद्ध आरोही निर्मल पुर्जाको नेतृत्वमा रहेको आरोहण टोलीले यस पटक कञ्चनजङ्घा, सगरमाथा र ल्होत्से हिमाल आरोहण गरेको छ । यो टोलीका सदस्यहरूले कञ्चनजङ्घा, सगरमाथा र ल्होत्से आठ दिन २३ घण्टा १० मिनेटमा आरोहण गरेका छन् । टोलीले सगरमाथादेखि ल्होत्सेको आरोहण २६ घण्टामा पूरा गरेका थिए । निर्मल पुर्जाले ती सबै आरोहण कृत्रिम अक्सिजनको प्रयोग बिना गर्नुभएको हो ।

यस पटक नेपालका हिमालमा कायम भएका विभिन्न कीर्तिमानले आगामी वर्षका लागि पनि आरोहणको सम्भावना सुनिश्चित गरिदिएको छ । कोभिडको महामारीको कारण दुई वर्ष नेपालमा पर्वतीय गतिविधिमा अवरोध पुग्यो । सन् २०२० मा शून्यको अवस्थामा रहेको हिमाल आरोहण सन् २०२१ मा ज्यादै कम आरोहीले मात्र आरोहण गरेका थिए । विशेषगरी बहराइनका राजकुमारले सगरमाथा आरोहण गरेपछि नेपाल कोभिडको महामारीबाट सुरक्षित मुलुक भएको सन्देश विश्वभर फैलिन गयो । विगत वर्षका तुलनामा नेपालका हिमालमा गतिविधि निकै बढ्यो । यस पटकको वसन्त ऋतुमा ७४ मुलुकका ९८६ जना आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति पाएका थिए । जसमा ७७३ जना पुरुष तथा २१३ जना महिला थिए । 

नेपाली तथा अमेरिकी आरोही 

चाप सगरमाथामा 

विभिन्न ५९ मुलुकका ३२५ जनाले सगरमाथा आरोहणको अनुमति पाएका थिए जसमा २५१ जना पुरुष तथा ७४ जना महिला थिए । सगरमाथा चढ्नका लागि अनुमति पाएका आरोहीहरूमा सबैभन्दा बढी अमेरिकाका छन् । अमेरिकाका ६५ जनामा ५२ जना पुरुष तथा १३ जना महिला थिए । यसैगरी संयुक्त अधिराज्यबाट कुल ३४ जना तथा भारतबाट २६ जना थिए । विगतमा धेरै आरोही आउने गरेको चीनबाट १४ जना, जापानबाट सातजना तथा दक्षिण कोरियाबाट एकजना मात्र सगरमाथा चढ्न आएका थिए । एकजना महिला मात्र सगरमाथा चढ्न आएका मुलुकहरूमा बेल्जियम, बुल्गेरिया, इजिप्ट, एलसाल्भाडोर, माल्टा, पोल्यान्ड, कतार, थाइल्यान्ड, युक्रेन, युनाइटेड अरब इमिरेटस, उरुग्वे हुन् । यसैगरी एकजना पुरुषले मात्र सगरमाथा आरोहणका लागि अनुमति पाएको मुलुकहरूमा क्रोयसिया, चेक गणतन्त्र, डेनमार्क, होन्डुरस, हङ्गेरी, इराक, केनिया, लिथुवानिया, मङ्गोलिया, नेदरल्यान्डस, न्युजिल्यान्ड, ओमान, पाकिस्तान, पोल्यान्ड, गणतन्त्र कोरिया, रुमानिया, साउदी अरेबिया, सिङ्गापुर, स्पेन र भेनेजुयला हुन् ।

कुन हिमालमा कति टोली ? 

यस पटक विभिन्न २७ वटा हिमालमा आरोहीहरू गएका थिए । जसमा सबैभन्दा बढी ४४ वटा टोली सगरमाथा चढ्न गएको थिए । ल्होत्से हिमालमा १५ तथा आमादब्लम हिमालमा १० वटा टोलीले आरोहण गरेका थिए । नुप्सेमा नौ, मकालु र कन्चनजङ्घामा आठ÷आठ, अन्नपूर्ण प्रथम, हिमलुङ, र थापापिक धम्पुसमा चार÷चार, बरुन्से र धौलागिरिमा तीन÷तीन, रत्नचुली, सारिबुङ र तिलिचुमा दुई/दुई टोली तथा अन्नपूर्ण चौथो, भीमदाङरी, डोल्माखाङ, गङ्गापुर्ण, मनास्लु, मुकोट, नोर्बुखाङ, फुखाङ, पोखरखाङ, पुथा हिमचुली, सौला र उर्कानमाङमा एक÷एक टोलीले आरोहण गरेका थिए । 

राजस्व कति उठ्यो ?

यसपालिको वसन्त ऋतुमा हिमाल आरोहण टोलीबाट नेपाल सरकारले कुल ४९ करोड ३ लाख ७२ हजार ८०७ रुपियाँ राजस्व सङ्कलन गरेको छ । आरोहणका लागि अनुमति दिइएका २७ वटा हिमालमध्ये सबैभन्दा धेरै ४० करोड ७७ लाख ३५ हजार ३५० रुपियाँ राजस्व सगरमाथाबाट सङ्कलन भएको छ । अन्य धेरै राजस्व आर्जन भएका हिमालहरूमा ल्होत्से हिमालबाट दुई करोड ४६ लाख ५२ हजार ५६२ रुपियाँ, कञ्चनजङ्घाबाट एक करोड ३० लाख ८४ हजार ६५० रुपियाँ र मकालु हिमालबाट एक करोड ११ लाख ८५ हजार ५२६ रुपियाँ राजस्व सङ्कलन भएको छ । 

आरोहीका असन्तोष 

नेपाली आरोहीहरूले कीर्तिमान कायम गर्दै आएका छन् । सुङ्दरे शेर्पा, लोप्साङजाङ्बु शेर्पा, बाबुछिरी शेर्पाजस्ता आरोहीले गर्नुभएको कीर्तिमान उहाँहरूको निधनपछि कतै चर्चा भएको सुनिँदैन । कतिपय कीर्तिमानी आरोही दैनिक गुजाराका लागि विदेशिन बाध्य छन् । 

आरोहीहरूले जतिसुकै कीर्तिमान कायम गरे पनि बेलाबखत प्रदान गरिने सम्मानपत्र बाहेक अन्य केही सुविधा नदिइएको गुनासो आरोहीहरूको रहेको छ । २५ पटक सगरमाथा चढेका पासाङदावा शेर्पाले आफूहरूलाई हालसम्म सरकारले परिचयपत्रसम्म उपलब्ध नगराएको दुःखेसो गर्नुभयो । हालै कलाकारहरूलाई विमानस्थलमा विशिष्ठ कक्ष प्रयोग गर्न दिनेसम्बन्धी जानकारी सार्वजनिक भयो तर आरोहीहरूले भने यस्ता सुविधा कहिले प्राप्त गर्ने ? सगरमाथा आरोही सङ्घकी अध्यक्ष माया शेर्पाले भने नेपाली आरोहीलाई सम्मानित जीवनयापन गर्न सङ्घले पहल गरिरहेको जानकारी दिनु भयो ।