• १९ असार २०८२, बिहिबार

दुम्किवासको पुल आजदेखि सञ्चालनमा आउने

blog

आजदेखि सञ्चालनमा आउन लागेको नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, असार १९ गते ।
नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल बिहीबारदेखि सञ्चालना आउने भएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वरबहादुर रिजालका अनुसार आज बिहान ११ बजेदेखि नयाँ पुलबाट सबै खाले सवारी साधनले यात्रा गर्न पाउने भएका हुन् ।

पुलको ढलान भएको करिब चार हप्तापछि पुल भएर नियमित रूपमा यातायात सञ्चालन हुने भएको हो । चिनियाँ निर्माण कम्पनी, परामर्शदाता तथा आयोजनाबिच भएको छलफलअनुसार पुल मार्ग खुला गरिने जानकारी दिनुभयो ।

गत २६ पुस गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो फलामे पुल भाचिँएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो । डाइभर्सन पनि खोलाले पटक–पटक बगाएपछि यो मार्ग भएर यात्रा गर्न निक्कै कष्टकर भएको थियो ।  

पछिल्लो पटक असार ७ गते विनयी खोलाले बस नै बगाएपछि नयाँ डाइभर्सन बनाइएको थिएन । जसका कारण साना तथा हलुवा सवारी साधन वैकल्पिक मार्गबाट ओहोरदोहोर गर्ने गरेका थिए भने ठुला तथा मालवाहक सवारी साधन भने तीन चार दिन कुरेर खोलाको बहाव घटेपछि आवतजावत गरिरहेका थिए ।

अब नयाँ पुल सञ्चालनमा आएपछि भने यात्रु र चालकले केही राहत पाउने छन् भने डाइभर्सन र वैकल्पिक भाटोको भर पर्नु पर्ने छैन । तर दुम्किवासको समस्या समाधान भए पनि दाउन्नेको झन्झट भने कायमै रहेको छ । आयोजना प्रमुख रिजालले अव डाउन्नेमा बर्खाअघि बाटो विस्तारको काम नहुने र मर्मत मात्र हुने भएकाले बर्खाभरी समस्या हुन सक्ने बताउनुभयो ।

यहाँ हल्का पानी परेको बेला उकालोमा चिप्लिएर गाडी गुड्न नसक्ने र बाटोमा गाडी फस्ने गरेका भएकाले समस्या यथावत छ ।