काठमाडौँ, असार ५ गते । मलेसियामा जुन २२ देखि जुलाई ६ तारिखसम्म आयोजना हुने एसिसी यु–१६ इस्टन जोन कपका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय युवा टोलीको घोषणा गरेको हो ।टोलीको उपकप्तानमा शूर्यान्सु कोइराला हुनुहुन्छ ।
नेपाल यस प्रतियोगिताको सविक विजेता हो । अघिल्लो सन् २०२३ मा भएको संस्करणको फाइनलमा नेपालले मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।
प्रतियोगितामा आयोजक मलेसिया र नेपालसहित इन्डोनेसिया, भुटान, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, सिङ्गापुर र थाइल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । नेपालले जुन २२ तारिख सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपालले दोस्रो खेल जुन २४ तारिख जापान, तेस्रो खेल २९ तारिख इन्डोनेसिया र चौथो खेल जुलाई १ तारिख भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली यु–१६ टोली
विपिनप्रसाद शर्मा (कप्तान), शूर्यान्सु कोइराला (उपकप्तान), रौनक श्रीवास्तव, अभय यादव, प्रसिद्ध जैसी, जोय थापा, सचिन भट्ट, सुगम बुढाथोकी, शिवांश बजगाई, सुयोग भट्टराई, सुशीलबहादुर रावल, सुभम खनाल, परिमर्जन यादव र रोशन साही ।