• ३१ जेठ २०८२, शनिबार

विकट गाउँ कर्थलीमा देक्षण कैसुङ छोलिङ गुम्बा

blog

बाह्रबिसे नगरपालिका–२ कर्थलीमा निर्माण भएको देक्षण कैसुङ छोलिङ गुम्बा । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, जेठ ३० गते ।
तामाङ समुदायको बाहुल्यता रहेको बाह्रबिसे नगरपालिका–२ कर्थलीमा देक्षण कैसुङ छोलिङ गुम्बा निर्माण भएको छ ।

शहरी विकास मन्त्रालय, शहरी विभाग पुल्चोकबाट गत वर्षहरुमा दुई पटक गरेर ४४ लाख बजेटबाट उक्त छोलिङ गुम्बा निर्माण भएको वडा अध्यक्ष रेशम तामाङले जानकारी दिनुभयो । गुम्बा निर्माण भए पनि बजेट अभावले बौद्धधर्मसम्बन्धी विभिन्न कलाकृति, रंगरोगन, घेराबारका कामहरु अधुरो रहेको उहाँले गुनासो गर्नुभयो ।

लामा, तामाङ समुदायका धार्मिक, साँस्कृतिक, धरोहरको रुपमा रहेको छोलिङ गुम्बा निर्माण भएपछि बौद्धिष्ट समुदायले विभिन्न पूजाआजा गर्ने गर्छन् । कर्थलीमा छोलिङ गुम्बाका साथै अन्य गुम्बा, मठमन्दिर निर्माणले आन्तरिक पर्यटनमा टेवा मिलेको स्थानीय सनक तामाङले बताउनुभयो । गाउँमै देक्षण कैसुङ गुम्बा निर्माण भएपछि धार्मिक, साँस्कृतिक कार्यका लागि गुम्बा खोज्दै हिँड्नु पर्ने अवस्था अन्त्य भएको सनकले हर्ष व्यक्त गर्नुभयो ।

अहिले वडाभर ठुला–साना गरी आधा दर्जन सङ्ख्यामा गुम्बा निर्माण भइरहेको वडा अध्यक्ष तामाङको भनाइ छ । सोही वडाको दुरुमथलीमा अमेरिकी सहयोगमा (दुई करोड रुपियाँ) भव्य युने छोलिङ गुम्बा निर्माण भइरहेको उहाँको भनाइ छ । वडा कार्यालयले आफ्नो आन्तरिक बजेटबाट, नगरपालिका, बागमती प्रदेश, विभिन्न निकायबाट कर्थलीमा गुम्बा, मठमन्दिर, चर्च भवन निर्माणमा बजेट व्यवस्थापन गर्दै आएको रेशमले बताउनुभयो ।

सोही वडाको चनौटेमा पञ्चकन्या सेतीदेवी मन्दिर, गणेश मन्दिर, रिपार सेतीदेवी मन्दिर, बुदेपा बाहुनगाउँ गोल्माथान मन्दिर, तीनकन्या सेतीदवी मन्दिर, पञ्चकन्या सेतीदेवी मन्दिर, भीमसेन मन्दिर, गोरखनाथ गुम्बा, सीतादेवी मन्दिरलगायतका मठमन्दिर, गुम्बा निर्माण गरेको अध्यक्ष तामाङले बताउनुभएको छ ।

अधिकांश तामाङ समुदायको बसोबास रहेको सो वडामा सबै धर्म आस्थाका समुदायको हितमा काम भइरहेको स्थानीयवासी देव जिरेलले बताउनुभयो । निर्माण भएका गुम्बा लगायतलाई व्यवस्थित बनाउन लाग्ने वडा कार्यालयले जनाएको छ ।