प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), जेठ ३० गते । जिल्ला प्रशासन कार्यालय रौतहटले आगामी असार १ गतेदेखि ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् कार्य बन्द गर्न निर्देशन दिएको छ ।
ढुङ्गा गिट्टी बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड (पहिलो संशोधन) २०७९ बमोजिम स्थानीय तहहरुबाट आ–आफ्नो क्षेत्राधिकार भित्रका नदी, खोला एवम् खहरेहरुबाट नदीजन्य पदार्थको उत्खनन् हुँदै आएको छ । सो कार्य जेठ मसान्त भित्र सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाअन्तर्गतका सबै पालिकालाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारि किरण निधि तिवारीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै जिल्ला भित्रका नदी, खोल्सा एवम् खहरेहरुमा जम्मा भएको लेदो, ढुङ्गा, गिट्टी तथा डेब्रिस व्यवस्थापन सम्बन्धमा मापदण्डको दफा ४ को उपदफा १६ मा लेखिए अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन् नगर्न निर्देशन दिइएको छ ।
मापदण्डको दफा ४ को उपदफा १६ भनिएको छ, “यस मापदण्डमा अन्यत्र जुन सुकै कुरा लेखिएको भएता पनि प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने छैन ।”