काठमाडौँ, जेठ २९ गते । १५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहीबार एथलेटिक्समा चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।
छात्र ज्याभ्लिन थ्रो, छात्रा आठ सय मिटर दौड र छात्र/छात्राको चार गुणा चार सय मिटर रिलेमा कीर्तिमान बन्यो । पहिलो दिन दुई कीर्तिमान बनेका थिए ।
बागमती प्रदेशका प्रवीण राना मगरले छात्र एक सय मिटर दौड तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा चार सय मिटर दौडमा कीर्तिमान बनाएका थिए ।
दोस्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान बनिसकेका छन् । तेश्रो तथा अन्तिम दिन शुक्रबार आठ स्वर्णको टुङ्गो लाग्ने छ । पहिलो दिन १० र दोस्रो दिन आठ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमान रच्नुभएको हो । उहाँले ५७.४० मिटर थ्रो गर्दै २०५५ साल धीरेन्द्रजङ्ग शाहले बनाएको ५५.५० मिटरको कीर्तिमान भङ्ग गरेका हुन् ।
कर्णाली प्रदशेका सुशान्त नेपाली दोश्रो तथा सुदूरपश्चिमका लोकेश एडी तेस्रो हुनुभयो । छात्रा आठ सय मिटर दौड दुई मिनेट १७.९ सेकेन्डमा तय गर्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले कीर्तिमान बनाउनुभयो ।
नारायणीले २०८१ सालमा सरिता खड्काले बनाएको दुई मिनेट २८.५ सेकेन्डको कीर्तिमान तोड्नुभयो । बागमती प्रदेशकी भगवती खड्का दोश्रो तथा सुदूरपश्चिमकी संगीता विक तेस्रो हुनुभयो ।
छात्र चार गुणा चार सय मिटर रिलेमा बागमतीका प्रवीन रानामगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले कीर्तिमानी स्वर्ण जिते । उक्त टोलीले निर्धारित दूरी तीन मिनेट ३०.९ सेकेन्डमा तय गरे ।
यसअघि चन्द्र बोहरा, अमित, कविर विक र सुक्वीरको टोलीको नाममा तीन मिनेट ३१.० सेकेन्ड (२०८० साल) को कीर्तिमान थियो । गण्डकी दोश्रो तथा लुम्बिनी तेस्रो बने ।
सोही स्पर्धाको छात्रामा बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले कीर्तिमान स्थापित गर्नुभयो ।
टोलीले निर्धारित दूरी तय गर्न चार मिनेट १२.८ सेकेन्ड समय खर्चिनुभयो । चार मिनेट १७.२ सेकेन्डको कीर्तिमान भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाको नाममा रहेको थियो । उहाँहरुले २०८१ सालमा कीर्तिमान बनाउनुभएको थियो । सुदूरपश्चिम दोस्रो तथा गण्डकी तेस्रो स्थानमा रहनुभयो ।
छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जित्नुभयो । पूजाले ३०.३२ मिटर थ्रो गर्नुभयो । कोशीकी उर्मिला राईले रजत तथा बागमतीकी सिर्जना श्रेष्ठले कांस्य जित्नुभयो ।
छात्र आठ सय मिटर दौडमा सुदूरपश्चिमका विक्रम विष्टले शीर्ष स्थान हात पार्नुभयो । उहाँले दुई मिनेट ०२.७ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभयो । कर्णालीका धीरेन्द्र विक दोस्रो तथा लुम्बिनीका आयुश थारु तेस्रो बन्नुभयो ।
छात्र लङजम्पमा गण्डकीका प्रदीप महतोले ६.६९ मिटर जम्प गर्दै पहिलो हुनुभयो । सुदूरपश्चिमका विवेक चौधरी दोस्रो तथा बागमतीका दीपेन्द्र गिरी तेस्रो हुनुभयो ।
सोही स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारुले स्वर्ण जित्नुभयो ।अनिशाले ५.१८ मिटर जम्प गर्नुभयो । सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत तथा सुदूरपश्चिमकै रेनुका ऐरले कांस्य हात पार्नुभयो ।