• २९ जेठ २०८२, बिहिबार

आइसिसी विश्वकप लिग–२

नेदरल्यान्ड्समाथि नेपालको ‘क्लिन स्विप’

blog

तस्बिर : क्यान

काठमाडौँ, जेठ २८ गते । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको चौथो खेलमा नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ । 

स्कटल्यान्डको डन्डीमा मङ्गलबार राति सम्पन्न यस सिरिजको अन्तिम खेलमा जितका लागि दुई सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २० रनमा समेटियो । सिरिजमा तेस्रो जित निकाले नेपालले नेदरल्यान्ड्सविरुद्ध ‘क्लिन स्विप’ गरेको छ । 

यसअघिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । यस्तै नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक रनले हराएको थियो । रोमाञ्चक अर्को खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बनेको थियो । 

विवादास्पद बनेको खेलमा नेदरल्यान्ड्सले पेनाल्टी स्वरुप १० रन उपहार पाएको थियो । ब्याटिङको क्रममा  स्ट्राइकमा रहनुभएका बसिर अहमद पिचको मध्यभागमा हिँडेका कारण नेपाललाई दुई पटक पाँच पाँच रनको पेनाल्टी लगाईएको हो । 

नेदरल्यान्ड्सका लागि वेस्ली बरेसीले सर्वाधिक ३६ रन बनाउनुभयो । यस्तै कप्तान स्कट एडवार्ड्सले ३०, ओपनर माइकल लेभिटले २७, काइल क्लेइनले २५, नोवा क्रोयसले २२, तेजा निदामनुरुले १७ र रोयलोफ भान दर मेर्वेले १६ रन बनाउनुभयो । 

बलिङमा नेपालका डेब्यु खेलाडी नन्दन यादव र सन्दीप लामिछानेले तीनतीन विकेट लिनुभयो । नन्दनले नौ ओभरमा एक मेडनसहित ३९ रन खर्चिनुभयो । 

१० ओभर पूरै बलिङ गर्नुभएका सन्दीपले पनि ३९ नै रन खर्चिनुभयो । यस्तै ललित राजवंशीले एक मेडनसहित दुई विकेट, करण केसी र कुशल भुर्तेलले पनि एक एक विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३६ रन बनाएको थियो । 

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको अर्धसतकीय पारी खेल्नुभयो । उहाँले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतले उक्त रन बनाउनुभएको हो । आरिफ ‘प्लेयर अफ दी म्याच’ हुनुभयो । 

यस्तै भीम सार्की र कप्तान रोहितकुमार पौडेलले ३५/३५, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले ११/११ तथा नन्दन यादवले अविजित १०  रन बनाउनुभयो । 

बलिङमा नेदरल्यान्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिनुभयो । माइकल लेभिटले  तीन तथा आर्यन दत्तले एक विकेट झार्नुभयो । 

यस जितसँगै नेपालले १६ खेलबाट १२ अङ्क बनाए, नेपाल सातौँ स्थानमा छ । २३ खेलबाट २६ अङ्क बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । १९ खेलबाट २४ अङ्क बटुलेको स्कटल्यान्ड तेस्रो स्थानमा छ । 

लिग–२ मा सहभागी आठ टोलीले कुल नौ सिरिजमा ३६ खेल खेल्ने छन् । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो । नेपालले अब स्कटल्यान्डमा तीन टोलीबिच टी–२० सिरिज पनि खेल्ने छ ।