• २३ जेठ २०८२, शुक्रबार

लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सुरु

blog

लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्दै धार्मिक पर्यटक। तस्बिरः राजन रावत

राजन रावत 

हुम्लाजेठ, २१ गते। नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको लाप्चाबाट यस वर्षको मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्य सुरु भएको छ। पाँच हजार मिटर उचाई रहेको न्यालु लेकमा जमेको चार फिटलाई एघार दिन लगाएर पन्छाउने कार्य सम्पन्न भएर सडक सुचारु भएपछि आन्तरिक तथा बाह्य पर्यटक लाप्चा पुगेर मानसरोवर कैलाशको दुरदर्शन गर्न सुरु भएको हो। 

पाँच हजार मिटर अग्लो नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको यसवर्षका लागि दुरदर्शन सुरु भएको लिमीका स्थानीय कुन्चोक तामाङले बताउनुभयो। न्यालु लेक र लाप्चा क्षेत्रको सडकमा जमेको हिउँ स्काभेटरबाट पन्छाउने कार्य पूरा हुनु र पर्यटकीय सिजन समेत सुरु भएपछि लाप्चासम्म यातायात सेवा सञ्चालनमा आएको र जसको कारण पर्यटक आउन सुरु भएको कारण मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्य सुरु भएको उहाँले बताउनुभयो। 

यसमा आन्तरिक र बाह्य दुवै खाले पर्यटक आउन सुरु भएको उहाँले बताउनुभयो। आन्तरिक भने जिल्लाभित्र र बाहिरका रहनुभएको छ भने भारतीय धार्मिक पर्यटक आउनुभएको हो। एक दिन अगाडि मात्र तीन जना भारतको नयाँ दिल्ली, हैदरावाद र उत्तर प्रदेशबाट मोटरसाइकलमा पैदल मार्गबाट आएर दर्शन गरेको लिमीका नेन्दाक लामाले बताउनुभयो।


हालसम्म नौ जनाा भारतीय धार्मिक पर्यटकले दर्शन गर्नुभएको र ११५ जना नेपाली पर्यटकले लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्नुभएको उहाँले बताउनुभयो। यसवर्ष लाप्चा पुग्ने पर्यटकको सङ्ख्या १२४ जना पुगेको छ। सिजन भरखर सुरु भएको कारण यसवर्ष धेरै पर्यटक लाप्चा पुग्ने पर्यटक व्यवसायीले बताउनुभएको छ। लाप्चा पुग्ने पर्यटक  सिमकोटबाट तीन दिनमा आफ्नो यात्रा पुरा गर्नु हुनेछ। ताक्चीमा होटेलको व्यवस्था भएको कारण यसले यात्रा अझै सहज बनाएको छ।