• २२ जेठ २०८२, बिहिबार

पर्यटन क्षेत्र ब्युँताउँदै चौतारा

blog

पहिलेकै शैलीमा निर्माणाधीन पुरानो बजारका संरचना ।

चौतारा समाचारदाता

चौतारा, जेठ २० गते । विनाशकारी भूकम्पले ध्वस्त भएको चौताराको पुरानो बजारले लय समात्ने प्रयत्न गरेको छ । पुरानै शैलीमा बजार ब्युँझन थालेपछि पर्यटकको चहलपहलसमेत वृद्धि हुन थालेको स्थानीयले बताउन थालेका छन् । 

ऐतिहासिक कृष्ण मन्दिरको पुनर्निर्माण, वास्तुकला तथा चित्र, पुरानै अवस्था झल्कने बाटो र अन्य संरचना निर्माण गरी होमस्टेसमेत सञ्चालन हुन थालेका छन् । 

‘छिगुझिगु म्हसिका चौतारा’ नाम दिई सामुदायिक होमस्टे चौताराको पुरानो बजारमा सञ्चालनमा ल्याइएको छ । स्थानीय महिलाको सव्रिmयतामा पुरानो बजारलाई लयमा फर्काउने प्रयास गरिएको हो । महिला सशक्तीकरणमा जोड गर्दै आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले होमस्टे सञ्चालन गर्न लागिएको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा करिब ४० लाख रुपियाँको बजेटमा होमस्टे सञ्चालनको तयारी थालिएको हो । होमस्टे सञ्चालनपूर्व पुरानो बजारलाई पहिलेकै अवस्था झल्काउने कार्य प्रारम्भ गरिएको छ । बाटोका घरका भित्तामा नेवारी कला, संस्कृतिको झल्को दिने चित्र कोरिएका छन् । बाटोको दायाँबायाँ आकर्षक स्थायी प्रकृतिका गमला सजाइएको छ । घरआँगनमा कलात्मक मठ निर्माण गरिएको छ । स्थानीय महिलालाई आवश्यक तालिमसहित फल्चा, ढुङ्गेधारा, नारायणस्थानको पार्कलगायतका संरचनालाई मौलिक शैलीमा निर्माण गर्न थालिएको छ । 

यहाँ आउने पाहुनालाई आत्मीय शैलीमा स्वागत, मौलिक एवं स्थानीय खाना, पारिवारिक वातावरण र सांस्कृतिक प्रस्तुति दिने योजना रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष गीता श्रेष्ठले बताउनुभयो । विनाशकारी भूकम्पले यहाँका सबै जसो संरचनामा क्षति पुगेको थियो । 

जिल्लाको प्रशासनिक केन्द्र टुँडिखेल भएपछि पुरानो बजारको चमकमा कमी हुँदै आएको स्थानीयले महसुस गरेपछि यसको साख पुनः फर्काउन पहल गरिएको स्थानीयको भनाइ छ । पर्यटकलाई आकर्षण गर्नका लागि चित्र र पुरानो अवस्था झल्काउने संरचना निर्माण गरिएको हो । 

नेपाल–तिब्बतबिचको पैदलमार्गका रूपमा चिनिएको चौतारा पुरानो बजार ऐतिहासिक स्थल हो । राष्ट्रिय विभूति भृकुटी र अरनिको यसै मार्ग भएर तिब्बत गएका थिए भनिएको छ । प्राचीनकालमा काठमाडौँ–तिब्बतबिचको व्यापारिक बाटोका रूपमा यो बजार परिचित छ ।