• २१ जेठ २०८२, बुधबार

बागमती प्रदेश सभाबाट दुई वटा विधेयक स्वीकृत

blog

स्मिता अर्जेल

मकवानपुरगढी, जेठ १९ गते । बागमती प्रदेश सभाबाट दुई वटा विधेयक स्वीकृत भएको छ । 

सोमबार दिउँसो बसेको प्रदेश सभा बैठकबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेको विधेयक २०८२ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेको विधेयक २०८२ सर्वसम्मतले स्वीकृत भएको हो । 

सोमबार बसेको प्रदेश सभा पहिलो बैठकमा ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेको विधेयक २०८१ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा उद्योग पर्यटन तथा वातावरण समितिको निर्णयको प्रतिवेदन माथिको छलफल भएको हो । 

सो पश्चात् उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले पेस गर्नुभएको थियो । 

सभामुख भुवनकुमार पाठकले दुवै प्रस्ताव सभामा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । सभामुख पाठकले दुवै विधेयक सर्वसम्मत स्वीकृत भएको घोषणा गर्नुभयो । 

सभामा भएको छलफलमा जवाफ दिनुहुँदै मन्त्री तामाङ्ले प्रदेश भित्र सञ्चालन भएका उद्योग व्यवसायलाई सशक्त ढङ्गले अगाडि बढाउनका निम्ति र कानुनी समस्याको समाधान हुनेगरी उक्त संशोधन गरिएको बताउनुभएको छ । आगामी दिनमा उद्योगी व्यवसायीलाई सहज वातावरण निर्माण हुनुका साथै उद्योगी व्यवसायीहरू फष्टाउँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।