बाबुराम कार्की
वराहक्षेत्र, जेठ १४ गते । प्राकृतिक विपदको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले प्रकोप व्यवस्थापन, जोखिम न्यूनीकरण एवं समन्वयका लागि पूर्वतयारी थालेको छ । नगरपालिकाले सरोकारवाला निकायको सहभागितामा नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक राखेर तयारी सुरु गरेको हो।
विपद व्यवस्थापनको पूर्वतयारी गर्न, स्थानीयमा सचेत जगाउन जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि नगरपालिकाले तयारी सुरु गरेको वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “विपदको पूर्वतयारीका लागि विपद व्यवस्थापन गर्न सरोकारवाला निकायको सहभागितामा नगर स्तरिय विपद् व्यवस्थापन समितिको बैठकले मार्फत तयारी सुरु गरिएकोे छ ।”
सप्तकोसी नदीको कटान तथा डुवानको कारण वराहक्षेत्र नगरपालिका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । नगरक्षेत्रमा फिरन्ते जङ्गली हात्तीको आतङ्क, आगलागी जस्ता विपद्को पनि जोखिम रहेकाले कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा छलफल भएको नगर आर्थिक विकास संयोजक तेज बहादुर गुरुङले बताउनुभयो ।
पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी पर्दा सप्तकोसी नदीको पूर्वी र पश्चिमी क्षेत्रमा बाढीको जोखीम उच्च हुँदा वराहक्षेत्र नगरपालिकाका स्थानीयहरु त्रासमा बस्नु पर्छ । नगरक्षेत्रको पटनाली खोला, बाघ खोला, गहने खोला, सर्दु खोला, बाहुनी खोलालगायत खोलाको कटान र बाढीबाट पनि सयौं परिवारहरु त्रसित हुने गरेका छन् । बाढी, पहिरो, डुबान र कटान न्यूनीकरण गरी समस्याको समाधान, राहत, उद्घार लगायत पूर्वतयारी र योजना, समन्वयको तर्जुमाको बिषयमा नगरपालिकाले तयारी सुरु गरेको छ ।
चतरा वराहक्षेत्र मन्दिर सडक खण्ड अन्तर्गतका धनसर खोला, रानी खोला, सत्र नम्बर, बाहुनी खोला लगायतका क्षेत्रमा पहिरोका कारण यातायात, विद्युत, इन्टरनेट लगायतका सेवाहरु अवरोध हुँदा स्थानीयसँगै पर्यटकहरुलाई असुबिधा तथा जोखिम हुने गर्दछ ।
प्रकोपबाट निम्तिने बिपत्तिलाई न्यूनीकरण गरी नगरबासीहरुलाई सुरक्षित रहेको महसुष गराउने र जोखिमलाई न्यूनीकरण गर्न नगरपालिकाले नगर स्तरीय विपद व्यवस्थापन समितिमार्फत छलफल र तयारी सुरु गरेको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।
नगरपालिकामा नगर स्तरिय विपद व्यवस्थापन समितिका संयोजक तथा नगर प्रमुख रमेश कार्कीको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडाध्यक्षहरु, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुँवर, सशस्त्र प्रहरी बल वेस क्याम्प चतराका सशस्त्र प्रहरी साहयक निरीक्षक सीताराम श्रेष्ठ, नेपाल रेडक्रश सोसाईटी उपशाखाका सभापति तथा प्रतिनिधिहरु, उद्योग बाणिज्य संघ वराहक्षेत्रका प्रतिनिधि, स्वास्थ्य शखाका प्रतिनिधि, शैक्षिक संस्थाका प्रतिनिधि, स्वास्थ्य केन्द्र बिद्युत प्राधिकरणका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।