• १५ जेठ २०८२, बिहिबार

'लैङ्गिक समानताको कार्यान्वयन कमजोर'

blog

खेमराज सापकोटा

रानी(विराटनगर), जेठ १३ गते । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधानमा लैङ्गिक समानताको विषयमा स्पष्ट रूपमा उल्लेख गरेको भएपनि पार्टीहरु नै कार्यान्वयनको पक्षमा कमजोर रहेको बताउनुभएको छ । 

मङ्गलवार जिपि कोइराला लेवर फाउन्डेसनले विराटनगरमा आयोजना गरेको लैङ्गिक समानताको प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘संविधानमा राम्रै गरी लैङ्गीक समानताको विषय छ । तर पार्टीले र हामीहरूले पनि व्यवहारमा त्यसलाई उतार्न सकिरहेका छैनौ ।’ मानिसमा भएको अहमताका कारण समानताको विषयले सार्थक रूप लिन नसकिरहेको उहाँले बताउनुभयो ।

समानताको समस्याको विषय विश्वभरी नै रहेको उल्लेख गर्नुभएका कोइरालाले थप्नुभयो, "अमेरिका जस्तो मुलुकमा समेत समानता हुन सकिरहेको अवस्था छैन । युरोपमा केही हदसम्म समानता देखिए पनि धेरै विकसित देशहरूमा समेत समस्या रहेको छ ।"

नेता कोइरालाले लैङ्गिक समानताका सन्दर्भमा ट्रेड युनियनहरूले गरेको भूमिकाको प्रशंसा समेत गर्नुभयो । महिला र पुरुषले समान काम गरे पनि खास गरी अनौपचारिक क्षेत्रहरूमा समान पारिश्रमिक समेत नपाउने बताउनुभएका कोइरालाले ट्रेड युनियनको प्रतिनिधित्व पार्टीमा हुनुपर्नेमा जोड दिनुभयो ।