• २६ जेठ २०८२, सोमबार

‘सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी छलफल अघि बढाएको छु’

blog

मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाइँदै । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, जेठ १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी छलफल अघि बढाएको बताउनुभएको छ । 

पत्रकार र सञ्चार क्षेत्रको हितका लागि विभिन्न विषयवस्तुहरु समावेश गरिएको ध्यानाकर्षण पत्र बुझाउन सोमबार मुख्यमन्त्रीको सरकारी निवास मधेश भवन पुगेका नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा नेतृत्वको पत्रकारको टोलीलाई सम्बोधन गर्ने क्रममा उहाँले ध्यानाकर्षणपत्रमा उल्लेख भएका धेरैजसो विषयवस्तुलाई अगामी नीति तथा कार्यक्रममा समेटन लागेको बताउनुभयो । 

उहाँले नेपाल पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणका लागि चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन भएको उल्लेख गर्दै भवन निर्माणका लागि आवश्यक जग्गाको अभावमा यस वर्ष सो बजेट सञ्चालन हुन नसकेको बताउनुभयो । 

उहाँले पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणका लागि आवश्यक जग्गाको टुङ्गो लाग्नेवित्तिकै प्रदेश सरकारले त्यसका लागि बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट ल्याउनुभन्दा अघि जग्गाको टुङ्गो लगाउनुस् । हामी बजेट व्यवस्थापन गर्छौ । उहाँले प्रदेश सरकारसँग सीमित स्रोतसाधन रहेको भन्दै अटाउन सकिने विषयहरुलाई अगामी आर्थिक वर्षको वजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

ध्यानाकर्षणपत्रमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा भाडाको घर लिएर सञ्चालन हुँदैआएको नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालयको आर्थिक अभावका कारण समुचित व्यवस्थापनमा कठिनाइ भइरहेको र दैनिक कार्य सञ्चालन तथा गतिविधिहरु सञ्चालन गर्न चुनौतीपूर्ण भइरहेको उल्लेख छ । 

प्रदेशको विभिन्न जिल्लाबाट मधेशको राजधानी जनकपुरधाम आउने पत्रकारलाई आवास तथा कार्यसम्पादनमा असहजता रहेको भन्दै यस्ता समस्या समाधान गर्न महासंघको स्थायी भवन निर्माणको योजना अघि बढेको र गुठी संस्थानसँग आवश्यक जग्गा लिजमा प्राप्तिको अन्तिम चरणमा रहेकाले भवन निर्माणका लागि आवश्यक बजेट विनियोज गर्न माग गरिएको छ ।