• १० जेठ २०८२, शनिबार

सुक्रलाई कोर्स कीर्तिमानसहित गल्फ उपाधि

blog

सुक्रबहादुर राईलाई उपाधि प्रदान गरिँदै ।

काठमाडौँ, जेठ १० गते । सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि धरानका गल्फर सुक्रबहादुर राईले जित्नुभएको छ ।

पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सम्पन्न चार दिने प्रतियोगितामा सुक्रले समग्रमा १७ अन्डर दुई सय ५५ स्कोरको कोर्स कीर्तिमानसहित उपाधि जित्नुभएको हो । फाइनल राउन्डमा अन्तिम दिन उहाँले ६ अन्डर ६२ स्कोर खेल्नुभयो ।

उपाधिसँगै उहाँले एक लाख १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । उक्त गल्फ कोर्समा यसअघि सद्भाव आचार्यको नाममा १५ अन्डर पारको र्कीिर्तमान थियो । सुक्रको यो खेल जीवनको ११औँ उपाधि हो । 

यस्तै चार स्ट्रोकले पछि पर्नुभएका निरज तामाङ दोस्रो हुनुभयो । अन्तिम दिन ६ अन्डर ६२ नै खेल्नुभएका निरजले समग्रमा १३ अन्डर दुई सय ५९ स्कोरमा खेल सक्नुभयो ।

उहाँले ७० हजार रुपियाँ पुरस्कार पाउनुभयो । कूल आठ अन्डर दुई सय ६४ खेल्नुभएका दिनेश प्रजापति तेस्रो हुनुभयो । उहाँले ५० हजार रुपियाँ पाउनुभयो । 

एमेच्योरतर्फ कूल तीन ओभर दुई सय ७५ स्कोरसहित राहुल विश्वकर्मा पहिलो हुनुभयो । उहाँले लेनिश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पार्दै उपाधि जित्नुभएको हो । ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योरले प्रतिस्पर्धा गरेका थिए । 


रामे मगरको टोलीलाई प्रो–एम उपाधि 

सूर्य नेपाल च्यालेन्जअन्तर्गत प्रो–एमको उपाधि प्रो रामे मगरको टोलीले जितेको छ। 

रोयल नेपाल गल्फ क्लबमा शनिबार रामेको टोलीले एक सय २४ अङ्कसहित उपाधि जितेको हो । यस टोलीमा एमेच्योर सत्यजङ्ग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गर्नुभएको थियो ।

यस्तै प्रो भुवन नगरकोटीको टोली एक सय १७ अङ्कसहित दोस्रो भयो । यस टोलीमा टिमका एमेच्योर रविन्द्र पुरूष ढकाल, मुक्ति सेन गुरूङ र तारा कार्की चित्रकारले समान ३९ स्कोर खेल्नुभएको थियो । 

यस्तै प्रो रमेश अधिकारीको टोली एक सय १४ स्कोरसहित तेस्रो भयो। यसमा एमेच्योर  स्वप्निल भट्टराईले ३९, फुन्सुक नोर्बु लामाले ३८ र स्वदेश गुरूङले ३७ स्कोर गर्नुभएको थियो । 

महिलातर्फ अञ्जली योञ्जनले ३९ स्कोरसहित उपाधि जित्नुभयो । उहाँले तारा कार्की चित्रकारलाई काउन्ट ब्याकमा पछि पार्नुभएको हो । झलेन्द्र भट्टराईले लङ्गेस्ट ड्राइभ र फुन्सुक नोर्बु लामाले क्लोजेस्ट टु दी पिनको उपाधि जित्नुभयो । प्रो–एममा ९० एमेच्योर गल्फरले प्रतिस्पर्धा गरेका थिए ।