• ९ जेठ २०८२, शुक्रबार

खेल शिक्षकलाई कबड्डी प्रशिक्षण

blog

कबड्डी खेल प्रशिक्षणको उद्घाटनपछि प्रशिक्षार्थी र अतिथिको सामूहिक तस्बिर ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ९ गते। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा खेल शिक्षकलाई कबड्डी खेलसम्बन्धी प्रशिक्षण दिन सुरु गरिएको छ। गाउँपालिकाभरिका विद्यालयका खेल शिक्षकलाई कबड्डी विधाको खेलसम्बन्धी प्रशिक्षण दिन सुरु गरिएको हो। 

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको आयोजनामा कबड्डी सम्बन्धी तीन दिने आधारभूत प्रशिक्षण सुरु भएको हो। गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा शुक्रबारदेखि सुरु भएको प्रशिक्षणमा गाउँपालिकाका नौ वटा माध्यमिक विद्यालयका खेल शिक्षक १८ सहभागी हुनुभएको खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले जानकारी दिनुभयो।

समितिका अध्यक्ष लिम्बूका अनुसार प्रत्येक विद्यालयबाट एक–एक जना महिला र पुरुष शिक्षक प्रशिक्षणमा सहभागी हुनुभएको छ। कबड्डी खेलका प्रशिक्षक मदन सेन्दाङ र दुर्गामणि तामाङले प्रशिक्षार्थीलाई प्रशिक्षण दिँदै हुनुहुन्छ। प्रशिक्षण गाउँपालिकाको आर्थिक तथा जिल्ला कबड्डी सङ्घको प्राविधिक सहयोगमा सुरु गरिएको खेलकुद विकास समितिले जनाएको छ। 

गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार लिम्बू, खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेल, अन्य जनप्रतिनिधि, सुरक्षा प्रतिनिधि लगायतको उपस्थितिमा प्रशिक्षण सुरु गरिएको हो। प्रशिक्षण आइतबार सम्पन्न हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ। यता गाउँपालिकाले खेलकुद प्रवद्र्धनका लागि भलिबल विधाको प्रशिक्षक करार सेवामा नियुक्ती गरी पालिकाभित्र प्रशिक्षण सञ्चालन गर्दै आएको छ।