• ९ जेठ २०८२, शुक्रबार

गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

blog

रघुगङ्गा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गर्नुहुँदै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी । तस्बिर : साधन घर्ती

साधन घर्ती
म्याग्दी (दरबाङ), जेठ ९ गते ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास भएको छ । २७ जना जग्गादाताहरुले निःशुल्क रुपमा उपलब्ध गराउनुभएको जग्गामा बन्ने उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गर्नुभयो । अध्यक्ष भण्डारीले भवन शिलान्यास गर्दै भवन निर्माणपछि गाउँपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवा समेत प्रभावकारी हुने बताउनुभयो ।

उहाँका अनुसार २७ जना स्थानीयले निःशुल्क उपलब्ध गराउनुभएको २५ रोपनीमध्ये १४ रोपनी क्षेत्रफल जमिनमा प्रशासकीय भवन निर्माण हुन लागेको हो । अध्यक्ष भण्डारीले जग्गाधनीसँग मञ्जुरी लिएर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३/३३ प्रतिशत बाँडफाड गरिएको बताउनुभयो । धेरै जनाको थोरैथोरै जग्गालाई एकीकृत र चक्लाबन्दी गरेर वरपर करिब ६ रोपनी क्षेत्रफलमा आठ मिटर फराकिलो सडक बनाइएको छ भने बिचको जग्गा गाउँपालिकाको भवन बनाउन लागिएको हो ।

माथिल्लो र तल्लो भागको करिब ६ रोपनी जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ । जग्गा व्यवस्थापन र विकास गर्न दुई करोड ५० लाख रुपियाँभन्दा बढी खर्च भएको छ । हाल बहुद्देश्यीय भवनबाट कार्यालय सञ्चालन हुँदै आएको छ ।

गाउँपालिकाका सवइन्जिनियर कमलबहादुर चोखालका अनुसार गाउँपालिका केन्द्र वडा नम्बर ३ मौवाफाँटमा निर्माण हुने तीन तले भवनको कुल नौ करोड ४० लाख ४४ हजार रुपियाँ लागत रहेको छ । पहिलो चरणमा ढलानसहितको पहिलो तलाका लागि दुई करोड रुपियाँको ठेक्का आह्वान गरिएकोमा प्रतिस्पर्धाका क्रममा कम कबोलेको मातृभुमी डेभलपर्स एण्ड इन्जिनियरिङ्ग प्रालि काठमाडौँसँग गत वैशाख १० गते एक करोड ३१ लाख ९८ हजार रुपियाँमा ठेक्का सम्झौता भएर काम सुरु भएको छ । यही असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ ।

भुँइ तलामा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहितको ११ कोठा, दोस्रो तलामा उपाध्यक्षको कार्यकक्षसहितको ११ र तेस्रो तलामा सभाहलसहितको ३५ कोठे भवन निर्माण हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले विकाससँग जोडिएको प्रशासकीय भवन निर्माण गर्न सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो ।