• ९ जेठ २०८२, शुक्रबार

‘स्मृतिमा बालकृष्ण सम र अम्बर गुरुङ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ९ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा बिहीबार आयोजित ‘स्मृतिमा बालकृष्ण सम र अम्बर गुरुङ’ कार्यक्रममा नाट्यसम्राट् बालकृष्ण सम र सङ्गीतकार अम्बर गुरुङको योगदानबारे चर्चा गरिएको थियो । 

प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलको सभापतित्वमा रहेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नाट्यसम्राट् बालकृष्ण समले नेपालको आधुनिक रङ्गमञ्चको सुरुवात गर्नुभएको बताउनुभयो । उहाँले समको योगदान ललितकला विधाको विकासमा पनि स्मरणीय रहेको भन्दै तत्कालीन समयमा ‘शमशेर’ थरबाट ‘शेर’ हटाएर ‘सम’ मात्र नाम राखेर बालकृष्ण समले समभावको महान् सन्देश दिएको पनि चर्चा गर्नुभयो । उहाँले  अम्बर गुरुङ पूर्वीय र पाश्चात्य सङ्गीतको विश्वविद्यालय भएको दाबी गर्नु उहाँले पछिल्लो जीवनकालमा नजिकबाट सङ्गीत गर्दा गुरुङलाई खुला किताब जस्तै पाएको धारणा व्यक्त गर्नुभयो ।

सङ्गीतकार राजकुमार श्रेष्ठले अम्बर गुरुङको सङ्गीत प्रवृत्तिबारे चर्चा गर्नुभएको थियो । उहाँले  लोकसङ्गीतबाट सुरु गरी बिचमा आधुनिक सङ्गीत सिर्जना, पाश्चात्य शैली क्यान्टाटा, क्वायरको प्रयोगपछि फेरि लोकसङ्गीत शैलीलाई नै अपनाएको आफ्नो अध्ययनबाट पाएको बताउनुभयो ।

कार्यक्रममा नाट्यसम्राट् बालकृष्ण समको योगदानबारे वरिष्ठ समालोचक डा. अभि सुवेदीले धारणा राख्नुभएको थियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले बालकृष्ण सम साहित्यसँगै ललितकला क्षेत्रको पनि ठुलो प्रतिभा भएको बताउनुभयो । समले रोजगारी दिएरै कलाकारलाई ललितकला विधामा लगाएको उहाँले जानकारी दिनुभयो । 

उपकुलपति शम्भु राईले स्वागत मन्तव्य र सदस्यसचिव कुस्मा महराले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ गायिका कुन्ती मोक्तान, शिलाबहादुर मोक्तान र रोशन राईले अम्बर गुरुङका केही कालजयी रचना पनि प्रस्तुत गर्नुभएको थियो ।