काठमाडौँ, जेठ ७ गते । नेपाल जियोटेक्निकल सोसाइटीले ३१ औं वार्षिकोत्सवका अवसरमा विपद् सहनशीलता र भू–प्रविधिक चुनौतीहरूमा केन्द्रित विशेष सङ्गोष्ठी आयोजना गरी मनाएको छ । यो कार्यक्रम २०७२ को गोरखा भूकम्पपछि बितेको दशकप्रति समर्पित स्मरण र चिन्तनको रूपमा आयोजित गरिएको हो । पुल्चोकस्थित द प्लाजामा सम्पन्न कार्यक्रममा इन्जिनियर, भूवैज्ञानिक, नीति निर्माणकर्ता, सहरी योजनाकार, अनुसन्धानकर्ता, सरकारी निकायका प्रतिनिधि तथा पेसागत संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको विषयवस्तु “भू–प्रकोप र भू–प्रविधि : २०७२ गोरखा भूकम्पबाट सिकाइ र पुनर्निर्माणको दशक” रहेको थियो । यस कार्यक्रममा विपद् पछिको पुनर्निर्माण र पुनःस्थापनाको यात्रामा नेपालले के कति कुरा सिक्यो र अहिले कुन स्थानमा आइपुग्यौ भन्ने कुरा झल्काइएको थियो । यो सङ्गोष्ठीले विपद् पछिको पुनर्निर्माणमा हासिल गरिएको प्रगतिको कदर गर्ने अवसर मात्र होइन, अझ बलियो पूर्वतयारी, निति, योजना, र भू–प्रविधिसम्बन्धी अभ्यासमा नवीनताको आवश्यकतालाई पनि स्मरण गराएको थियो । मुख्य कार्यक्रमहरूमध्ये नेपाल जियोटेक्निकल सोसाइटीका अध्यक्षको प्रमुख मन्तव्य, दुई वटा प्राविधिक प्रस्तुति, विशेषज्ञहरूको प्यानल छलफल, र एक भू–प्रकोपसम्बन्धी पुस्तक विमोचन पनि समावेश थिए ।
गोरखा भूकम्पको एक दशकः हामीले के सिक्यौं ?
प्राविधिक सत्रको उद्घाटन गर्दै सोसाइटीका अध्यक्ष डा. मन्दीप सुवेदीले “गोरखादेखि जाजरकोटसम्मः एक दशकको अनुभव, अवसरहरू र सहनशीलतातर्फको बाटो” शीर्षकमा प्रस्तुति दिनुभएको थियो । उहाँले नेपालको पुनर्निर्माण यात्रामा जोखिम–संवेदनशील सहरी विकास, भूकम्पीय सहनशीलता र आधुनिक निगरानी प्रणालीहरूको महत्त्वबारे प्रकाश पार्नुभयो । २०७२ को भूकम्पपछि भएका प्रगतिबारे चर्चासँगै चुनौतीलाई पनि उहाँले प्रस्तुत गर्नुभयो । उहाँको समिक्षा केवल अहिलेसम्म गरिएका कार्यहरूको विवरण मात्र थिएन, आगामी ठुला भूकम्पप्रति हामी साँच्चिकै तयार छौं त ? भन्ने प्रश्नसहितको सोचपूर्ण आह्वान पनि थियो ।
नेपाल भूकम्प मापन केन्द्रका डा. लोक विजय अधिकारी र वरिष्ठ भू–प्रविधिक इन्जिनियर डा. नारायण मरासिनीबाट प्राविधिक प्रस्तुति गरिएको थियो । उहाँहरूले भूकम्पीय प्रवृत्ति र पुनर्निर्माण अनुभवहरूबारे आफ्ना महत्त्वपूर्ण दृष्टिकोणहरू साझा गर्नुभयो । उहाँहरूको प्रस्तुति उच्च–रिजोल्युसन डाटा, भू–भौतिकीय समायोजन, जगको सुरक्षा, ढलानको स्थिरीकरण, र माटोको व्यवहारले विपद् सहनशीलतामा खेल्ने भूमिकामाथि केन्द्रित थियो ।
प्राडा.नेत्र प्रकाश भण्डारी (एहिमे विश्वविद्यालय, जापान) को संयोजनमा आयोजित प्यानल छलफलमा डा. गङ्गालाल तुलाधर (पूर्व शिक्षा मन्त्री), डा. गोविन्दराज पोखरेल (पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग) तथा अन्य प्राविधिक विशेषज्ञहरू सहभागी थिए । प्यानलको मुख्य प्रश्न थियोः “२०७२ को गोरखा भूकम्पबाट हामीले के सिक्यौं र अझै के सिक्न आवश्यक छ ?” छलफलमा उल्लेखनीय नीति तथा इन्जिनियरिङ सुधारहरूलाई स्वीकार गर्दै, विशेषज्ञहरूले अझै कायम रहेको जोखिमहरू, जस्तै अव्यवस्थित सहरीकरण, जलवायु परिवर्तन, र अपूर्ण भू–प्रविधिक मूल्याङ्कनमाथि विशेष ध्यान केन्द्रित गरेका थिए ।
पुस्तक विमोचनः नेपालका भू–प्रकोपसम्बन्धी भू–प्राविधिक अध्ययन प्रतिवेदन–२०२४
कार्यक्रमको एक प्रमुख आकर्षण “नेपालका भू–प्रकोपहरू सम्बन्धी भू–प्राविधिक अध्ययन प्रतिवेदन–२०२४” पुस्तकको विमोचन थियो, जुन नेपाल जियोटेक्निकल सोसाइटीद्वारा प्रकाशित गरिएको हो । पुस्तकको औपचारिक विमोचन प्राडा.सुशील बहादुर बज्राचार्य (डीन, इन्जिनियरिङ अध्ययन संस्था), ई.दिनेश प्रसाद भट्ट (प्रमुख कार्यकारी, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण), सम्पादकीय टोली, र सोसाइटीका कार्यसमितिद्वारा संयुक्त रूपमा गरिएको थियो ।
प्राडा.नेत्र प्रकाश भण्डारी, डा.मन्दीप सुवेदी र ई.राजन केसीद्वारा सम्पादित यो पुस्तकमा २०७६ देखि २०८१ सम्मका प्रमुख विपद्हरू, जस्तै जाजरकोट भूकम्प (२०८०), मेलम्ची बाढी (२०७८), सहरी भू–प्रकोपहरू, थामे हिमबाढी, र २०८१ मा भएको वर्षा–जन्य बाढी तथा पहिरोसम्बन्धी स्थलगत अवलोकन र अनुसन्धान–आधारित विश्लेषणहरू प्रस्तुत गरिएको छ । पुस्तकमा भू–प्राविधिक विफलताहरूलाई उजागर गर्दै, जोखिम न्यूनीकरण र सुरक्षित पूर्वाधार निर्माणका लागि नीतिगत सिफारिसहरू पनि प्रस्तुत गरिएको छ ।
यो पुस्तकले प्रत्येक मनसुनपछिका भू–प्रकोपहरूलाई समावेस गर्ने नेपाल जियोटेक्निकल सोसाइटीको वार्षिक पहलको सुरुवात भएको सङ्केत पनि गर्दछ । आगामी वर्षहरूमा, विपद्को गम्भीरता अनुसार, यस्ता घटनाहरूलाई प्रिन्ट प्रकाशन वा डिजिटल प्रतिवेदनको माध्यमबाट सार्वजनिक गरिने छ ।
जियोमान्डु २०२६ अन्तर्राष्ट्रिय सम्मेलन को घोषणा
नेपाल जियोटेक्निकल सोसाइटीले आफ्नो अन्तर्राष्ट्रिय सम्मेलन श्रृङ्खलाको तेस्रो संस्करण जियोमान्डु २०२६ को घोषणा गरेको छ, जुन नोभेम्बर २०२६ मा काठमाडौँ, नेपालमा आयोजना हुने तय गरिएको छ। पहिलो र दोस्रो जियोमान्डु सम्मेलनहरूको सफलतापछि, आउँदो संस्करणले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगलाई अझ सशक्त रूपमा प्रवर्धन गर्ने अपेक्षा गरिएको छ । जियोमान्डु सम्मेलनको सफलतालाई थप मजबुत बनाउँदै, जियोमान्डु २०२४ सम्मेलनमा प्रस्तुत भएका सोधपत्रहरू चार संस्करणमा एक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुने प्रक्रियामा छन्, जसले नेपालका भू–प्राविधिक अनुसन्धान समुदायको विश्वव्यापी प्रभावलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
सम्मान तथा संस्थागत प्रतिबद्धता
कार्यक्रमको दोस्रो भाग औपचारिक तथा उत्सवमूलक सत्रहरूले भरिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, ई. केशवकुमार शर्मा, प्रमुख अतिथि रूपमा उपस्थित रहँदै नेपालमा भू–प्राविधिक इन्जिनियरिङको प्रगतिका लागि सोसाइटीको योगदानको प्रशंसा गर्नुभयो ।
यहि कार्यक्रमको अवसरमा सोसाइटीले भू–प्राविधिक इन्जिनियरिङको क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेका पेशेवरहरू र योगदानकर्तालाई पुरस्कृत गरेको थियो । “भू–प्रकोप र भू–प्राविधिक” विषयअन्तर्गत पोस्टर र फोटोग्राफी प्रदर्शनीमा विद्यार्थी, युवा पेशेवर र अनुसन्धानकर्ताहरूका कामहरू प्रदर्शन गरिए, जसले स्थानीय चुनौतीहरू, नवप्रवर्तन र पुनर्निर्माणका प्रयासहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्यो ।
नेपालले जलवायु परिवर्तन, तीव्र सहरीकरण र पुरानो पूर्वाधारबाट बढ्दो जोखिमको सामना गरिरहेकाले, यस्ता कार्यक्रमहरूले प्राविधिक छलफललाई प्रोत्साहन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाबिच सहकार्य र सहयोगलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछन् । कार्यक्रममा नेपालले विपद् व्यवस्थापनमा प्रतिक्रियात्मक दृष्टिकोणबाट सक्रिय र पूर्वसर्त योजना तर्फ सर्न आवश्यक रहेको कुरा जोड दिइयो, जसमा भू–प्राविधिक विज्ञान र इन्जिनियरिङले क्षमता निर्माणको नेतृत्व लिनुपर्ने देखिन्छ ।