• १८ जेठ २०८२, आइतबार

विपद् पूर्व तयारीमा जुट्न गृहमन्त्रीको आह्वान

blog

पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै गृहमन्त्री रमेश लेखक । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौं, जेठ ६ गते । गृहमन्त्री रमेश लेखकले सरकार र गैह्रसरकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्युनीकरणको लागि पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

मङ्गलबार बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो आह्वान गर्नुभएको हो । 

उहाँले पूर्वमनसुनको अवस्था रहेकाले मनसुनको बेलामा हुने विपद् जोखिम न्युनीकरण गर्नेबारेका छलफल भएको बताउनु भयो । उहाँले  र्‍याफ्टिङ एशोसिएशन र पर्वतारोहण संघ लगायत निजी क्षेत्रसँग छलफल भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिले हामी पूर्वमनसुनको अवस्थामा छौँ । केही समयपछि मनसुन प्रारम्भ हुन्छ । अहिले प्राधिकरणले निरन्तर रुपले मनसुनको बेलामा हुने विपद्का जोखिम न्युनीकरण गर्ने र विपद् भए त्यसको त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा निरन्तर छलफल र तयारी गरिरहेको छ । अहिले निजी क्षेत्रका विभिन्न संस्थाहरु जस्तोः  र्‍याफ्टिङ एशोसिएशन छ, पर्यटकका आरोहणको क्षेत्रका छन् । उहाँहरुलाई रेस्क्यु गर्ने ज्ञान, सीप र क्षमता हुन्छ । त्यसकारण सरकारले विभिन्न गैरसकारी संस्था, निजी क्षेत्र र राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्र जसले जोमिखमा विपद्को जोखिमलाई न्युनीकरण र व्यवस्थापन गर्ने कुरामा सहयोग गर्न सक्नुहुन्छ, उहाँहरुसँग छलफल गरेर सरकार र गैह्रसकारी दुवै क्षेत्र मिलेर जोखिम न्यूनीकरण गरौँ । जोखिम भएको अवस्थामा त्यसको उचित व्यवस्थापन गरौँ भन्ने साझा धारणा निर्माण गर्ने तयारी स्वरुप यो बैठक बसेको हो ।’’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले अहिले प्राधिकरण निरन्तर मनसुन प्रतिकार्य योजना बनाउने क्रममा रहेको बताउनु भयो । उहाँले हिमाली क्षेत्रमा उद्धारका लागि र डुबानबाट मानवीय क्षति हुन नदिनका लागि  र्‍याफ्टिङ एशोसिएशनसँग छलफल गरेको बताउनु भयो । छलफलमा दुवै संस्थाहरुले सहयोगको प्रतिबद्धता जनाएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘‘अहिले हामी लगातार मनसुन प्रतिकार्य योजना बनाउने क्रममा छौँ । यसका लागि हामीले विभिन्न बैठक बसिरहेका छौँ । हिमाली उद्धारमा समस्या आउँदा गर्ने कामको बारेमा पर्वतारोहण संघसँग र बोटको अभाव हुन नदिने र जनशक्ति व्यवस्थापन गर्न छलफल गरेका हौँ । उहाँहरुसँग सहकार्य गरौँ भनेर राखिएको हो । उहाँहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यो वर्ष पहिलाको वर्षभन्दा बढी पानी पर्छ, बढी तातोको अवस्था आउनेछ स्थिति छ । पहिलाको भन्दा राम्र्रो तयारी गरौँ भनेर लागेका छौँ ।’’

उहाँले यस वर्ष गत वर्षको भन्दा पनि बढी वर्षा हुने र बढी गर्मी हुने अनुमान रहेको बताउनु भयो । त्यसै अनुसार पूर्व तयारीमा लागेको उल्लेख गर्नुभयो । छलफलमा तीनै सुरक्षा निकायका विपद् हेर्ने अंगका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवं विश्व खाद्य कार्यक्रमका अधिकारीहरुको पनि सहभागिता थियो ।