काठमाडौँ, जेठ ६ गते । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसनमा जाने दुई टोलीको टुङ्गो लागेको छ ।
लिग अन्तर्गत एन्फा मैदानमा मङ्गलबार भएको खेलमा आरसिटी क्लब र वीरगन्ज युनाइटेडले १–१ गालेको बराबरी खेल्दै अङ्क बाँडेपछि टुसाल ‘बी’ बाट ‘सी’ डिभिजनमा घटुवा भएको हो ।
नयाँबस्ती युवा क्लब यसअघि नै रेलिगेसनमा परिसकेको छ । आरसिटीका लागि प्रज्ज्वल गुरुङले ४८औँ मिनेटमा गोल गर्नुभयो । वीरगन्जका सञ्जय चौधरीले ५८औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो ।
बराबरीसँगै १५ अङ्क बनाएको आरसिटी ११औँ स्थानमा उक्लिएको छ । १७ अङ्क बनाएको वीरगन्ज पाँचौँ स्थानमा छ । प्लानिङ ब्वाइज युनाइटेड च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिसकेको छ ।
अब दोस्रो स्थानको श्री भगवती क्लबले तेस्रो स्थानको ब्वाइज युनियन क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यही नतिजाले शीर्षमा डिभिजनका पुग्ने अर्को टोलीको टुङ्गो लाग्ने छ ।