काठमाडौँ, जेठ ६ गते । नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय मैदानमा पाइला चालेको १८ वर्ष पूरा भइसकेको छ ।
सन् २००७ मा मलेसियामा भएको एसिसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको नेपाली महिला टोली अन्तर्राष्ट्रिय उपलब्धिको हिसाबले पछाडि नै छ ।
पुरुष क्रिकेटले ११ वर्षअघि नै आइसिसी टी–२० विश्वकप खेलेर दोस्रो पटक २०२४ मा विश्वकपको अनुभव बटुल्दा महिला क्रिकेटले विस्तारै आफ्नो लय समात्ने छनक देखिएको छ ।
एसियाली प्रतियोगिता बाहिर जान नसकेको नेपाली महिला टोलीले थाइल्यान्डमा सम्पन्न आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो ।
नेपाली महिला टोलीले पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको हो । अब नेपाली महिला टोली विश्वकपभन्दा एक कदम पछाडि छ ।
मौसम र भाग्यको साथ
नेपाललाई विश्वकप नजिक पुग्न यसपटक मौसम र भाग्यले पनि साथ दियो । सँधै तँगारो बन्ने गरेको युएइईलाई सुपर तीनको खेलमा हराए पनि नेपालको ग्लोबल छनोट यात्रा तय भएको थियो ।
लिग चरणमा हङकङ र बहराइनबिचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर तीनमा प्रवेश गरेको छ । समूह ‘सी’ मा हङकङ र नेपालका समान पाँच अङ्क भए पनि नेपाल बढी जित निकालेको आधारमा आधारमा अगाडि रहेको हो ।
नेपाल लिग चरणको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन अवस्थामा थियो । यता हङकङ चार खेलमा एक जित र तीन नतिजाविहीन भएको थियो ।
यदि लिग चरणको अन्तिम खेलमा हङकङले बहराइनलाई हराएको भए नेपालको सम्भावना सकिने थियो । तर उक्त खेलमा वर्षा बाधक बन्दा हङकङ बाहिरियो र नेपाल भाग्यमानी बनेको थियो ।
सुपर तीनको अन्तिम खेलअगावै छनोट यात्रा तय गरेको नेपाल अन्तिम खेलमा थाइल्यान्डसँग ७८ रनले पराजित भयो । जितका लागि एक सय ५९ रनको लक्ष्य पाएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटमो क्षतिमा ८० रनमा समेटियो ।
थाइल्यान्डले च्याम्पियन बन्दै ग्लोबल छनोटमा पुग्दा अन्तिम खेलमा नेपालको ब्याटिङ कमजोर भयो । भाग्यमानी नेपालले ग्लोबल छनोटमा यो कमजोरी सुधार गर्नुपर्ने आवश्यक छ ।
अब नेपालले विश्वकप पुग्न अन्तिम चरणको ग्लोबल छनोट खेल्ने छ । छनोट खेलमा १० टोलीबिच प्रतिस्पर्धा हुने छ । जसमा नेपालले थाइल्यान्ड, बङ्गलादेश, स्कटल्यान्ड, अमेरिका, आयरल्यान्ड र नेदरल्याान्ड्स, युगान्डा, जिम्बाबे, नामिबिया जस्ता टोलीको सामना गर्नुपर्नेछ ।
जसबाट चार टोलीले विश्वकपमा स्थान बनाउने छन् । भर्खर पाइला चालेको नेपालका लागि ग्लोबल छनोट चुनौतीपूर्ण छ ।
महिला क्रिकेटमा क्यानको चासो
यस ऐतिहासिक उपलब्धिका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले पछिल्ले समय महिला खेलाडीका गरेको लगानी र चासोको प्रभाव पनि हो । वर्षमा हुने एकाध राष्ट्रिय प्रतियोगिता खेलेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु पर्ने महिला क्रिकेटरको बाध्यतालाई क्यानले विस्तारै चिर्दै गएको छ ।
यस पटक क्यानले एसिया छनोट अघि महिला टोलीलाई भारतमा प्रशिक्षणको व्यवस्था मिलाएको थियो । यस्तै क्यानले महिला टोलीलाई विदेशी कन्सल्टेन्ट प्रशिक्षकको समेत व्यवस्था गरेको थियो ।
क्यानले प्रधानमन्त्री कपलाई लामो ढाँचामा सञ्चाल गरेर पनि महिला खेलाडीको प्रदर्शनमा केही सुधार गरेको देखिन्छ । यद्यपी पुरुष क्रिकेटको तुलनामा नेपालमा अझै महिला खेलाडीको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना र सहभागिता न्युन छ ।
केन्द्रीय सम्झौताको उत्साह
क्यानले महिला खेलाडीका लागि राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय सहभागितासँगै खेलाडीलाई गएको फागुन महिनादेखि केन्द्रीय सम्झौतामा राखेको छ ।
यसले पनि महिला खेलाडीको मनोबल उच्च बनाएको हो । यसपटक कप्तान इन्दु बर्मा, अनुभवी खेलाडी रुविना क्षेत्री, युवा स्टार पूजा महतो र बलर मनिषा उपाध्यायको प्रदर्शन तारिफ गोग्य रह्यो ।
क्यानले पहिलो पटक १९ जना महिला खेलाडीलाई ‘ए’, ‘बी’ ‘सी’, ‘डी’ र इमर्जिङ श्रेणीमा विभाजन गरी मासिक तलव भत्तासहितको सम्झौता गरेको छ । ‘ए’, ‘बी’ ‘सी, ‘डी’ र इमर्जिङ मा रहेका खेलाडीले मासिक क्रमश: ५०, ३५, ३०, २५ र २० हजार रुपियाँ पाउँदै आएका छन् ।
अहिले ‘ए’ मा कप्तान इन्दु बर्मा, अनुभवी खेलाडी रुबिना क्षेत्री र सीता रानामगर हुनुहुन्छ । यस्तै ‘बी’ मा कविता कुँवर, ‘सी’ मा पूजा महतो र अश्मिना कर्माचार्य, ‘डी’ मा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल हुनुहुन्छ ।
इमर्जिङ खेलाडीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबी पोदार, श्रृष्टि जैसी, सम्झना कुमारी खड़का र सना प्रविन हुनुहुन्छ ।