नागेन्द्रकुमार कर्ण
महोत्तरी, जेठ २ गते । महोत्तरी जिल्लाको छुटाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् । जिल्लाको लोहारपट्टी नगरपालिकाको वडा नं. ७ मा बोर्डिङ स्कुलको बसको ठक्करबाट पिपरा गाउँपालिका ५ बस्ने सिकिन्द्र मण्डलका १८ वर्षिय छोरा सुमित कुमार मण्डलको मृत्यु भएको हो ।
जनकपुरस्थित शारदा एकेडेमी बोर्डिङ स्कुलको अनटेष्ट बसले लोहारपट्टीमा विपरित दिशाबाट आइरहेको बिआर३२एम८०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार सुमितलाई स्थानीयबासीहरुको सहयोगमा जनकपुर अञ्चल अस्पताल पुर्याइएकाे थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक शैलेन्द्र कुमार भट्टले अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताउनुभयो । यता, जलेश्वर नगरपालिका २ को जलेश्वर जनकपुर सडकखण्डमा एक बसको ठक्करबाट पैदलयात्री महिला गम्भिर घाइते हुनुभएको छ । जलेश्वर नगरपालिका १० सारी बस्ने सन्जु देवी ठाकुरलाई नम्बर खुल्न नसकेको बसले ठक्कर दिँदा उहाँ घाइते भएको जनाइएको छ ।
टाउकोमा गहिरो चोट लागेको सन्जु देवीलाई प्रारम्भिक उपचारपछि थप उपचारको लागि जनकपुर पठाइएको जानकारी दिनुहुँदै प्रवक्ता भट्टले दुर्घटना सम्बन्धी थप जानकारी आउन बाँकी रहेको बताउनुभयो ।