• १ जेठ २०८२, बिहिबार

महिला टी–२० विश्वकप छनोट : बहराइनमाथि नेपालको जित

blog

जितपछि नेपालका खेलाडी ।

काठमाडौँ, जेठ १ गते । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा बहराइनविरुद्ध जित निकालेको छ ।

थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले बहराइनलाई डकबर्थ लुइस (डिएलएस) का आधारमा ६ विकेटले हरायो । जितसँगै नेपालले सुपर तीनको सम्भावना जिवित राखेको छ ।

नेपालसँगको हारसँगै बहराइन बाहिरिएको छ । सुपर तीनमा रहन नेपालाई शुक्रबार हुने हङकङ र बहराइनबिचको नतिजा कुर्नुपर्ने हुन्छ । उक्त खेलमा हङकङ पराजित भएमा नेपालको अगाडिको यात्रा सहज हुनेछ ।

जितसँगै चार खेलबाट पाँच अङ्क बनाएको नेपाल समूह ‘सी’ को शीर्षस्थानमा उक्लिएको छ । तीन खेलबाट चार अङ्क बनाएको हङकङ दोस्रो स्थानमा छ । वर्षा बाधक बनेको खेलमा नेपालले जितका लागि सात ओभरमा ५६ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ५.४ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २४ रन बनाउनुभयो । यस्तै पूजा महतोले अविजित १३ रन जोड्नुभयो । बलिङमा बहराइनकी पवित्रा सेट्टीले तीन विकेट लिनुभयो । 

यसअघि टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेटको क्षतिमा ७६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । बहराइनका लागि रसिका रोड्रिगोले २४, कप्तान दिपिका रसांगिकाले २३ र थरंगा गजनायके १२ रन बनाउनुभयो । 

छनोटमा सहभागी ना टोलीलाई तीन समहमा विभाजन गरिएको छ । समूहको विजेता टोली सुपर तीनमा पुग्ने छ । सुपर तीनको शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।