कृष्णबहादुर धामी
दार्चुला, वैशाख २५ गते । जिल्लाको ३२ दशमलव १२ प्रतिशत अर्थात् नौ हजार ४९२ हेक्टर क्षेत्रफल जमिन सिँचाइको पहुँचमा पुगेको छ । खेतीयोग्य जमिन उनन्तीस हजार ५४४ हेक्टर क्षेत्रफल मध्ये बाइस हजार ८२५ हेक्टर क्षेत्रफल खेती गरिएको जमिनमा सिँचाइको सुविधा पुगेको सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलाका सूचना अधिकारी प्रवीणप्रसाद कलौनीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९-०८० मा नौ हजार २१० हेक्टर क्षेत्रफल, २०८०÷०८१ मा नौ हजार ३१५ हेक्टर क्षेत्रफल र आर्थिक वर्ष २०८१-०८२ मा नौ हजार ४९२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको उहाँले बताउनुभयो । सिँचाइ पुगेको नौ हजार ४९२ हेक्टर क्षेत्रफलमध्ये आठ हजार ६९६ हेक्टर क्षेत्रफलमा कुलो मार्फत सिँचाइ भइरहेको र ७९६ हेक्टर क्षेत्रफल जमिन पोखरीबाट सिँचाइ भइरहेको उहाँले बताउनुभयो ।
जिल्लाका नौ वटै स्थानीय तहहरुमा चालु आर्थिक वर्ष २०८१-०८२ को बजेटबाट थप चार हजार २०८ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुर्याउन कुलो तथा पोखरी निर्माणको काम धमाधम भइरहेको छ ।
यस वर्ष जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुला अन्र्तगत ३१५ नयाँ योजनाहरुको निर्माण कार्य भइरहेको छ । तीमध्ये २१५ वटा योजनाको निर्माण कार्य सम्पन्न भई सिँचाइ गर्न थालिएको छ । यस वर्षका सबै योजनाहरु निर्माण सम्पन्न भईसक्दा तेह्र हजार ७०० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइको सुविधा पुग्ने छ । दार्चुलाको कुल जनसङख्या एक लाख तेत्तिस हजार ३१० रहेकोमा ८४ प्रतिशत जनसङ्ख्या कृषि खेतीमा निर्भर छन् ।
जिल्लाको महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन गाउँपालिकामा प्रशस्त मात्रामा तरकारी, नगदेबालीहरु उत्पादन हुन्छन्, भने मकै, धान, गहुँ, कोदो, फापर, सिमी, जौँ, उवा, नप्पल लगायतका खाद्य बाली समेत उत्पादन हुने गर्दछन् ।