• २५ वैशाख २०८२, बिहिबार

पर्यटक पर्खिरहेको ‘भाले बास्ने’ ताल

blog

म्याग्दीको भाले बास्ने ताल, झरना र आसपासका गाउँहरु । तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), वैशाख २५ गते । घना जङ्गलले घेरिएको । माथि पहाडको शीरमा प्रसिद्ध धार्मिक स्थल मालिका धुरी । आँखाले भ्याएसम्म देखिने सुन्दर ग्रामिण बस्तीहरु । 

दुखु लेकबाट छङछङ गर्दै झरना झरिहेको छ । यहि आकर्षक झरनाको फेदीमा करिब २२ वर्गमिटर क्षेत्रफलमा फैलिएको तालको नाम हो ‘भाले बास्ने’ ताल । लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकहरुमा सोधिने भालेबास्ने ताल कुन जिल्लामा पर्दछ ? भन्ने प्रश्नको उत्तर आउँछ ‘म्याग्दी जिल्ला’ ।

मालिका–६,मा पर्ने यो ताल प्रचुर पर्यटकीय सम्भावना भएपनि थप पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित ऐतिहासिक ताल मालिका र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित ताल पर्यटक पर्खिरहेको छ । मालिका गाउँपालिकाले तालसम्म पुग्ने पदमार्गसहित पूर्वाधार निर्माण गरेको छ भने स्थानीय दुखुबेँसीबासी यो तालको प्रचारप्रसार र प्रवर्द्धनमा जुटेका छन् । 

गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०७७-०७८ देखि गत वर्षसम्म ताल सम्म पुग्न दुखुबेँसी गाउँदेखि १५ लाख रुपियाँ लागतमा करिब दुई किलोमिटर ढुङ्गाको सिँढीसहित पदमार्ग निर्माण गरेको छ । चालु आर्थिक वर्षमा चाल लाख रुपियाँ लागतमा मन्दिर पुनर्निर्माण गरिएको पदमार्ग र मन्दिर पुर्ननिर्माण उपभोक्ता समिति अध्यक्ष गङ्ग रोकाले जानकारी दिनुभयो । 

देवताको शक्ति रहेको धार्मिक विश्वासका कारण नजिकैको भाले बास्ने मन्दिरमा हरेक वर्ष स्थानीयले पूजाआजा गर्ने गर्दछन् । ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल ‘भाले बास्ने ताल’ घुम्न आउन स्थानीय दुखुबेँसीका राज मगरले सबैलाई आग्रह गर्नुहुन्छ । केही वर्ष पहिले खोलामा आएको बाढीले पुरिएर साँघुरिएर सानो बन्दै गएको र कठिन भुगोलका कारण ताल अहिले मुस्किलले देख्न सकिने दुखुबेँसीका सौगात गुरुङले बताउनुभयो । 

गाउँलेले खडेरीको समयमा पनि पानी पार्ने देवताको रुपमा समेत मान्दछन् 'भाले बास्ने'लाई । दुई शताब्दी अघिको किंवदन्ती अनुसार दुखु गाउँका ९ भाइमध्ये एक भाइ लाहुरबाट घर फर्किंदा भरिया लिएर उक्त तालको बाटो हुँदै जानुभएछ । ताल नजिकै उखु र सुन्तलाबारीसहित एउटा उज्यालो घर देखिएछ । त्यही घरमा राती विश्राम गर्नुभएछ । बिहानै कुखराको भालेको आवाजले व्युझिँदा ती व्यक्ति र उहाँका भरिया ढुङ्गामा सुतेको अवस्थामा आफूलाई पाउनुभएछ । 

ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आउनुभएछ र गाउँलेहरुलाई उक्त घटना सुनाउनुभएछ । उक्त घटनाकै आधारमा तालको नामकरण गरिएको दुखुबेँसीका ७१ वर्षिय लालप्रसाद पुनले बताउनुभयो। ती व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बली लिएर पूजा गर्ने गरेको भनाइ समेत छ । यो तालमा अझै पनि बिहान बिहानै कुखुराको भाले बास्छ भन्ने विश्वास स्थानीयलाई छ । 

गाउँदेखि पैदलमार्फत करिब ४५ मिनेटमा यो तालमा पुग्न सकिन्छ ।