सुदूरपश्चिमका दुई ठुला प्रादेशिक अस्पतालले स्वास्थ्य सेवा विस्तारका क्रममा फड्को मार्दै आएका छन् । ती अस्पतालसँगै खुलेका निजी अस्पतालले गर्दा ज्वरो आउँदा पनि भारतका सीमावर्ती सहर पुग्ने प्रचलन अहिले अन्त्य हुने अवस्थामा छ । धनगढीस्थित पुरानो अस्पताल सेती प्रादेशिक अस्पतालले झन्डै तीन सय शय्या सञ्चालनमा ल्याउँदा महाकाली प्रादेशिक अस्पतालले भने १५० शय्या सञ्चालनमा ल्याएको छ । यी दुई अस्पतालका साथै प्रदेश सरकारले आयुर्वेद अस्पतालमा पनि सञ्चालनमा ल्याएर उपचारमा थप सहजता ल्याउन खोजेको छ ।
सुदूरपश्चिम प्रदेशको पहिलो अस्पताल सेती प्रादेशिक अस्पतालले सेवा विस्तारका क्रममा फड्को मार्दै गएको छ । विसं १९९७ मा जिल्ला अस्पतालका रूपमा १५ शय्यासहित स्थापना भएको यस अस्पतालले हालसम्म २७५ शय्या सञ्चालनमा ल्याएको छ । यो अस्पताल जिल्ला, अञ्चल हुँदै अहिले प्रादेशिक अस्पतालका रूपमा विस्तार भएको छ ।
प्रदेशको प्रमुख रिफरल सेन्टर रूपमा सेवा प्रदान गर्दै आइरहेको सेती अस्पतालमा हाल सुदूरपश्चिमसहित भारतको सिमापारिको क्षेत्रबाट पनि सेवा लिन आउने गरेका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले बताउनुभयो । सेती प्रादेशिक अस्पतालले यस क्षेत्रमा हुन सक्ने विपत् व्यवस्थापनमा समेत विशेष भूमिका खेल्दै आएको डा. पाण्डेले दाबी गर्नुभयो ।
सेती प्रादेशिक अस्पतालले हाल विभिन्न प्रकारका सेवा प्रदान गर्दै आइरहेको छ । प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. पाण्डेका अनुसार, यस प्रादेशिक अस्पतालले १७ खालका विशेषज्ञ सेवा सञ्चालन गरेको छ । जस अन्तर्गत जनरल मेडिसिन, जनरल सर्जरी, बालरोग, गाइनोकोलोजी, अर्थोपेडिक, छालारोग, रेडियोलोजी, नाक, कान, घाँटी, एनेस्थेसियोलोजी, प्याथोलोजी, दन्तरोग, जनरल प्राक्टिस, न्युरो सर्जरी, कार्डियोलोजी, फिजियोथेरापी, मानसिक रोगलगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।
सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवासम्बन्धी २० शाखा तथा एकाइ वा केन्द्र स्थापना गरिएका छन् । जसमा क्षयरोग उपचार केन्द्र, एमडिआर उपचार केन्द्र, एचआइभी उपचार तथा सरसल्लाह केन्द्र, कुष्ठरोग उपचार केन्द्र, सुरक्षित गर्भपतन केन्द्र, मातृशिशु तथा खोप केन्द्र, सर्पदंश उपचार केन्द्र, सिकलसेल उपचार केन्द्र, सामाजिक सुरक्षा एकाइ, अस्पताल फार्मेसी, बायोमेडिकल इन्जिनियर युनिट, इन्फेक्सन प्रिभेन्सन तथा सरसफाइ युनिट, डायलासिस, मेडिको लिगल तथा पोस्टमार्टमसहितका केन्द्र सेती प्रादेशिक अस्पतालले सञ्चालनमा ल्याएको छ ।
प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. पाण्डेका अनुसार, अस्पतालले स्वास्थ्य प्रवाह प्रणालीको विकास र विस्तार गरी गुणस्तरीय सेवा सुनिश्चित गर्ने प्रमुख लक्ष्य लिएको छ । यस्तै अबको मिसन भनेको अधिकतम स्रोतसाधनको उपयोग गरेर स्वास्थ्य प्रवाह गरेर जनताको स्वास्थ्यसम्बन्धी मौलिक अधिकार सुनिश्चित गर्ने नै रहेको उहाँले बताउनुभयो । अस्पतालले २४ सै घण्टा एम्बुलेन्स सेवा, आपत्कालीन सेवा, बहिरङ्ग, अन्तरङ्ग सेवा, स्वास्थ्य बिमा, २४ सै घण्टा फार्मेसी, एआरटीसहितका दुई दर्जनभन्दा बढी सेवा प्रदान गर्दै आएको छ । दैनिक एक हजारभन्दा बढीले सेवा लिने सेती प्रादेशिक अस्पतालमा ८३ जना चिकित्सक, १२५ स्टाफ नर्स, ३७ अनमी कार्यरत रहेका छन् ।
महाकाली प्रादेशिक अस्पताल
विसं २०३१ मा २५ शय्याको स्वीकृति प्राप्त भए पनि जनशक्ति अभावका कारणले १५ शøयासहित अन्तरङ्ग विभाग खडा गरेर कञ्चनपुर जिल्ला अस्पतालमा परिणत भई प्रसूति सेवा आरम्भ भएको महाकाली प्रादेशिक अस्पतालमा अहिले १५० शय्या सञ्चालनमा रहेका छन् ।
विसं २०४३ मा ५० शय्यासहित रिफरल सेन्टर अञ्चल अस्पतालका रूपमा परिणत भएको यो अस्पतालमा अहिले फरक फरक विभागको जिम्मेवारीले गर्दा जटिल रोगका बिरामीले समेत उपचार सेवा पाउन सकेको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले बताउनुभयो ।
“विशेषज्ञ सेवा थप्दै गएको अवस्था रहेको छ,” मेडिकल सुपरिन्टेन्डेन्ट डा. भट्टले भन्नुभयो, “नाक, कान, घाँटी रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, छालारोग विशेषज्ञ, बालरोग विशेषज्ञ, सर्जन थप्न सफल भएका छौँ ।”
अहिले भौतिक संरचना पनि आवश्यकता अनुसार निर्माण गर्ने काम भइरहेको उहाँले बताउनुभयो । अस्पतालमा दैनिक छ सयभन्दा बढी बिरामी आउने गरेका बताउँदै उहाँले तीन चरणमा ओपिडी सञ्चालनमा रहेको बताउनुभयो ।
महाकाली प्रादेशिक अस्पतालले सेवा विस्तार गर्ने क्रममा यस आवदेखि सिटी स्क्यान मेसिन खरिद प्रव्रिmया पनि अगाडि बढाइएको जनाएको छ । सिटी स्क्यान मेसिन नहुँदा अहिले बिरामीहरू रिफर गर्नुपर्ने बाध्यता रहेको छ । सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाइएसँगै आगामी दिनमा बिरामीलाई सहजता हुने अपेक्षा गरिएको छ ।
महाकाली प्रादेशिक अस्पतालमा मुख्य चुनौतीका रूपमा जनशक्ति अभाव नै रहेको मेडिकल सुपरिन्टेन्डेन्ट भट्टले बताउनुहुन्छ । विशेषज्ञ चिकित्सकका लागि अस्पतालमा १९ जनाको दरबन्दी रहेको छ तर हाल १३ जना मात्रै विशेषज्ञ चिकित्सक अस्पतालमा कार्यरत रहेका छन् । यस्तै मेडिकल अफिसर १६ जना कार्यरत रहेका छन् । दरबन्दी अनुसार चिकित्सक अभाव हुँदा सबै सेवा प्रवाह हुन नसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. भट्टले बताउनुभयो । दरबन्दी थप्न सके समयमै बिरामीको उपचार हुने उहाँले बताउनुभयो । हाल गाइने डाक्टर एक जना मात्रै रहेका, बच्चाको सानो आइसियु कक्ष खुल्न नसकेका कारणले पनि केही बिरामीमा रिफर गर्नुपर्ने बाध्यता रहिआएको जनाइएको छ ।
महाकाली प्रादेशिक अस्पतालका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक राजेश्वरी समालले अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्यामा वृद्धि भएपछि अहिले बिरामीको उपचारमा सहजता भएको बताउनुभयो । बिरामीको चाप बढेसँगै अहिले अस्पतालमा ४४ जना नर्स उपचारमा खटिएका उहाँले बताउनुभयो । नर्सको थप सेवा विस्तार र दरबन्दी अनुरूप नर्स मगाउन सकिए अझै प्रभावकारी हुने उहाँ बताउनुहुन्छ । अहिले महाकाली प्रादेशिक अस्पतालमा १५ जना दरबन्दीका र ४४ जना करारमा नर्स रहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा थप सुधारका कार्यक्रम अगाडि बढाइएको दाबी गरेको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मीले प्रदेश सरकारले स्वास्थ्यकर्मी र औषधीको आपूर्तिसँगै थुप्रै कार्य गर्दै आएको बताउनुभयो । स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, जनचेतना जगाउने, निःशुल्क उपलब्ध गराउने औषधीमा प्रदेश सरकारले सहयोग गर्दे आइरहेको उहाँले बताउनुभयो । धनगढीमा स्वास्थ्य तालिम केन्द्र स्थापना गरी चिकित्सकलाई तालिम प्रदान गर्दै आइरहेको, स्वास्थ्य सामग्री आपूर्ति केन्द्रले आवश्यक औषधी खरिद गरी पठाउने गरेको, धनगढीको राजपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले विभिन्न खालका रोगहरूको अनुसन्धान गर्दै आएको र घुम्ती शिविर सञ्चालन गरिँदै आएको उहाँले बताउनुभयो । यस्तै नौ वटै जिल्लामा आयुर्वेदिक अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. रेग्मीले बताउनुभयो ।
प्रादेशिक आयुर्वेद चिकित्सालय
यस्तै विसं २०७९ असोज ११ गतेदेखि कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुरमा प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको थियो । आयुर्वेद अस्पतालमा बिरामीको चाप भने न्यून रहेको छ । तथापि विगत केही वर्षयता भने अस्पतालले चिकित्सक र सेवा थप गरेसँगै विभिन्न प्रकारका बिरामी उपचारका लागि आउने गरेको चिकित्सालयका सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले बताउनुभयो ।