गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २२ गते । कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेको कविता कृति ‘चोटहरूको उत्सव’ लोकार्पण गरिएको छ । राजधानीमा आयोजित एक समारोहबिच कृतिको वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी, गायिका आनी छोइङ डोल्मालगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कवि दिवसले भन्नुभयो, “चोटहरूले नै मान्छेलाई साँचो अर्थमा मान्छे बनाउँछ । चोट पाएपछि मान्छे मान्छे भएको इतिहास छ । आँसु चुहुन पनि हाँसोभन्दा महत्वपूर्ण हुन्छ भन्ने लाग्छ । दुनियाँमा कवि लेखकले चोट पाएर नै सिर्जना गर्नुभएको हो । कवि बेलबासेका कविता त्यस्तै छन् ।”
गायिका आनीले महको स्वाद चाखेको तर महको बयान गर्न नजानेको जस्तो लागेको बताउँदै बेलबासेले देखेका, भोगेका अनुभव सँगालेर सुन्दर कविता कोर्न सफल भएको प्रतिक्रिया दिनुभयो । कृतिमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक शङ्कर तिवारीले प्रेममाथिको मेडिएसन मात्र नभएर मेडिटेसन हो भन्नुभयो । उहाँले कविता बौद्धिकताले भरिएका बताउँदै प्रेम दर्शन र भोगाइहरू कवितामा बलशाली बनेर आएको उल्लेख गर्नुभयो । स्रष्टा बेलबासेले मानवका चोट र पीडाको रूपलाई कविताको रूप दिने प्रयास मात्र गरेको बताउनुभयो ।