काठमाडौँ, वैशाख २१ गते । बुढानिलकण्ठ फाइट नाइट मुवाँथाई मुख्य स्पर्धामा नेपालका मिलन तामाङ विजयी हुनुभएकाे छ ।
हात्तीगौँडा खेलकुद समितिको आयोजनामा भएको पुरुष ६० केजीको प्रतिस्पर्धामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई नकआउट गर्दै उपाधि जित्नुभएको हो ।
उपाधिसँगै मिलनले एक लाख रुपियाँ पुरस्कार पाउनुभयो । यस्तै पुरुष ५२ केजीमा नेपालका योमन मोक्तानले नेपालकै कुञ्जन घिमिरेलाई हराउनुभयो । ५४ केजीमा नेपालका पुरनजित राई विजयी हुनुभयो ।
उहाँले भारतका स्खेम्बोर्लाङ मार्वेनलाई पाखा लगाउनुभयो । ७० केजीमा नेपालका महेन्द्र गजमेरले बाजी मार्नुभयो । उहाँले नेपालकै रोनिश सुब्बालाई पन्छाउनुभएको थियो ।
नेपाल राष्ट्रिय मुवाँथाईं सङघको प्राविधिक सहयोग तथा गलाक लाइफ स्टायलको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५७ केजीमा नेपालका गुमन घर्ती मगर पहिलो हुनुभयो । उहाँले भारतका बरेम्रोन डेनियललाई हराउनुभयो ।
६० केजीको भिडन्तमा नेपालका गौतम थिङले भारतका याइमालाई हराउँदै पहिलो हुनुभयो । ६७ केजीमा नेपालका सन्तोष खत्रीले भारतका असेम तोन्डोन्बालाई पराजित गर्नुभयो ।
यस्तै महिला ६० केजीमा नेपालकी सारिका धमला तथा ५१ केजीमा नेपालकै सुस्मिता थापा विजयी हुनुभयो । सारिकाले भारतकी जेनिस्ता निन्गोम्बम तथा सुस्मिताले भारतकै गीता नर्जिनारीविरुद्ध जित निकाल्नुभयो ।
प्रतियोगितामा समावेश नौ स्पर्धामा नेपाल, भारत र थाइल्यान्डका १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सबै विधाका विजेता र उपविजेतालाई नगद पुरस्कार प्रदान गरियो ।