काठमाडौँ, वैशाख २० गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।
ललितपुरको च्यासल फुटबल मैदानमा शनिबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई ८–० गोलअन्तरले हराउँदै दोस्रो जित निकाल्यो । आर्मीको जितमा कमला चन्द, निलिमा पाण्डे र दमारा भट्टले समान दुई गोल गर्नुभयो ।
सुनिता नेगी र सीतामाया बलले समान एक गोल थप्नुभयो । चार टोली सहभागी महिलातर्फ लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । हालसम्म आर्मीसँगै गण्डकी प्रदेशले पनि दुई जित निकालेको छ ।
समान दुई खेलबाट आर्मी र गण्डकीको ६/६ अङ्क छ । अब आगामी आइतबार गण्डकी र आर्मीबिच प्रतिस्पर्धा हुनेछ । यो खेलले नै लिगको विजेता टुङ्गो लगाउनेछ । लिगमा समान दुई खेल खेलेका बागमती र मधेसले भने अङ्क जोड्न सकेका छैनन् ।
शनिबार नै भएको पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । च्यासलमा नै भएको समूह ‘बी’ को खेलमा पुलिसले एपिएफ क्लबमाथि ३–० को जित निकालेको हो ।
पुलिसको जितमा नवराज खत्रीले ह्याट्रिक पूरा गर्नुभयो । उहाँ प्लेअर अफ दी म्याच हुनुभयो । यो जितसँगै चार टोली रहेको समूहबाट शीर्ष दुईमा रहँदै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
समान दुई खेलबाट अपराजित पुलिसको ६ ङ्कक र कर्णालीको तीन अङ्क छ । समान दुई खेलबाट एपिएफ र बागमतीको एक एक अङ्क छ । यो समूहमा कर्णालीसँगै एपिएफ र बागमती तीनै टोलीको शीर्ष दुईभित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना जीवतै छ ।
शनिबार नै भएको पहिलो खेलमा कोसी र गण्डकीले ३–३ गोलको बराबरी खेले । कोसीका लक्ष्मण समारिया, योगेशकुमार बारघरे र आर्यान चौधरीले एक एक गोल गर्नुभयो ।
गण्डकीका लागि दीपक तामाङले दुई तथा संघम घर्तिमगरले एक गोल गर्नुभयो । दुवै टोली जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्थे । तर, यो खेलको नतिजा बराबरी भएपछि आर्मीले सेमिफाइनलमा स्थान बनायो ।
समान दुई खेलबाट आर्मी ६ अङ्कसहित शीर्ष स्थानमा छ । समान दुई खेलबाट कोसीको चार, गण्डकीको एक अङ्क र मधेस अङ्कबिहीन छ । अब कोसी र गण्डकीमध्ये एक टोलीको सेमिफाइनलमा पुग्नेछ ।