काठमाडौँ, वैशाख १९ गते । राजधानीको नयाँ सडक धर्मपथस्थित जुद्ध वारुणयन्त्र रहेको भवन २०७२ सालमा गएको भूकम्पका कारण जीर्ण बनेपछि पैदलयात्रीका लागि खतरा बनेको छ ।
वसन्तपुर–हनुमानढोका आवतजावत गर्ने सडकपेटीसमेत रहेको यहाँ दैनिक हजारौँ मानिसको आवतजावत हुन्छ । विदेशी पर्यटकसमेत निरन्तर आवतजावत गर्ने सडकपेटी जीर्ण भवनसँगै रहेपछि यात्रु डराएर हिँड्नु परेको छ ।
काठमाडौँ महानगरपालिका जुद्ध वारुणयन्त्र कार्यालयका अनुसार १० वर्षअघिको भूकम्पले राणाकालीन भवन जीर्ण बनेको हो । समयमा भवन पुनर्निर्माण नहुँदा पैदलयात्रीलाई समेत खतरा भएको हो ।
कार्यालयका प्रमुख ध्रुव भुजेलले भूकम्पबाट जीर्ण बनेको भवन यहाँ दैनिक ओहोरदोहोर गर्ने हजारौँ मानिसका लागि खतराको घण्टीका रूपमा रहेको बताउनुभयो । जुनसुकै बेला पनि भवन भत्किएर ठुलो मानवीय क्षति हुन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँले छिट्टै नै भवनको पुनर्निर्माण भइदिएको भए सबैका लागि राम्रो हुने बताउनुभयो । जोखिमपूर्ण अवस्थामा रहे पनि भवनको पुनर्निर्माण कहिलेदेखि हुने भन्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
कार्यालय प्रमुख भुजेलका अनुसार मानिसको चहलपहल हुने व्यस्त स्थानमा रहेको भवनको सडकतर्फको भाग मात्र होइन, पूरै भवन क्षतिग्रस्त छ । पैदलयात्री शरद अधिकारी भन्नुहुन्छ, “स्वदेशी मात्र होइन, विदेशी पर्यटकसमेत हिँड्ने सडकपेटीमा जीर्ण भवनको इँटा खसेर बटुवालाई लाग्ने त्रास छ, नयाँ सडकमै यो हालत छ, के गर्ने ?”
जुद्धशमशेरले राणाकालमा बनाएको यो भवन जुद्ध वारुणयन्त्रका नामले चर्चित छ । यो भवन सुर्की चुनासहित वज्र जोडाइले बनाइएको आकर्षक भएकाले सोही वास्तुकला कायम राख्दै यसको पुनर्निर्माण हुनुपर्ने पदैलयात्री अधिकारीको भनाइ छ । अर्का पैदलयात्री रुद्र महर्जनले भन्नुभयो, “वारुणयन्त्र भवनबाट भत्किएको गारोबाट इँटा झरेर लाग्ने भय त छँदै छ साथसाथै नयाँ सडक र पर्यटकीय चहलपहल हुने स्थल अशोभनीय भएको छ ।”