• १७ वैशाख २०८२, बुधबार

सिदिङ्मा धाममा बढ्न थाले पर्यटक

blog

तीन हजार ७०० मिटर उचाइमा रहेको सिदिङ्मा धाम क्षेत्र ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १७ गते । ताप्लेजुङको धार्मिक पर्यटकीय क्षेत्रको रूपमा रहेको सिदिङ्मा धाममा पर्यटक बढ्न थालेका छन् । जिल्लाको सिदिङ्वा गाउँपालिका–२ सादेवा र वडा ३ आङ्खोपको सिमानामा रहेको सिदिङ्मा धाम चुचुरोमा पछिल्लोपटक पर्यटक बढ्न थालेका हुन् ।

नयाँ वर्ष अर्थात् सम्बत् फेरिएसँगै सिदिङ्मा धाम पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएका पाइएको छ । सादेवाका स्थानीय कैलास राईका अनुसार सीमित पर्यटक मात्र पुग्ने गरेको सिदिङ्मा धाममा यस वर्षदेखि सङ्ख्या बढ्दै गएका छन् । यस वर्ष नयाँ वर्षको दिन ठुलै सङ्ख्यामा आन्तरिक पर्यटक सिदिङ्मा पुगेका राईले बताउनुभयो ।

तीन हजार ७०० मिटरको उचाइमा रहेको सिदिङ्मा धाममा धार्मिकसँगै पर्यटकीय भ्रमणमा निस्किने पर्यटक पुग्न थालेका राइको भनाइ छ । उहाँका अनुसार सिदिङ्मा धामभन्दा करिब दुई किलोमिटर तल रहेको सिक्रेडाँडासम्म मोटरबाटो पुगेकाले पनि पर्यटकको सङ्ख्या बढ्दै गएको हो । सिक्रेडाँडादेखि करिब अढाई घण्टाको पैदल यात्रा गरी सिदिङ्मा धाम पुगिने उहाँले बताउनुभयो ।

सिदिङ्माबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, पवित्र तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ), तिम्बुङपोखरी सहितका रमणीयस्थल साथै भारतको सिक्किम र दार्जिलिङजस्ता क्षेत्र नजिकबाट नियाले झैं देख्न सकिने भएकोले भ्रमणमा जाने पर्यटक आकर्षित हुँदै गएका पाइएको छ । यता धार्मिक पर्यटकका लागि सिदिङ्मा धाम छुट्टै ऐतिहासिकता र मान्यता भएको स्थलका रूपमा रहेको छ ।

किम्बदन्ती अनुसार सिद्ध नाम गरेका ऋषिले कठोर तपस्या गरी आफ्नो मनोकाङ्क्षा पूरा गरेको स्थलको रुपमा सिदिङ्वा धामलाई लिने गरिन्छ । सिदिङ्वा धाममा आफूले मागेको बर सिद्ध गरिदिने स्थलको रूपमा दर्शनार्थीले दर्शन गर्ने गरेका स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार वैशाख र असोज महिना तथा ऋषि तर्पणीको समयमा तुलनात्मक रूपमा उल्लेख्य दर्शनार्थी अर्थात धार्मिक पर्यटक सिदिङ्मा पुग्ने गरेका छन् । ऋषि तर्पणी तिथिका समयमा सिदिङ्मा धाममा विशेष पूजापाठसमेत हुने गरेको स्थानीको भनाइ छ । हिमपातको समय हिउँद याममा पनि सिदिङ्मा धाम क्षेत्र आउजाउ गर्नलाई कुनै कठिनाइ नहुने सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले बताउनुभयो । 

उपाध्यक्ष कडरियाका अनुसार प्रयाप्त प्रचारप्रसार नभएका कारण सिदिङ्मा भ्रमण गर्ने पर्यटकको सङ्ख्या न्यून रहेको छ । पछिल्लो समय भने सामाजिक सञ्जाल लगायतका माध्यममार्फत सिदिङ्मा धामको केही प्रचारप्रसार हुने थालेकाले भ्रमण गर्नेहरू क्रमशः बढ्दै गएका उहाँको भनाइ छ । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यकै रूपमा विकास गर्ने गरी सिक्रेडाँडासम्म सडकको ट्रयाक निर्माण गरिएको छ । 

यस्तै सिदिङ्मा धाम पुग्ने पदमार्ग, प्रवेशद्वार (गेट) सहितका संरचनाहरू निर्माण हुन थालेका गाउँपालिकाले जनाएको छ । सिदिङ्मा धाम तथा यस क्षेत्रको थप प्रचारप्रसार र प्रवर्धनका लागि महोत्सव सहितका कार्यक्रमहरू गर्ने गाउँपालिकाले योजना बनाइरहेको बताइएको छ । हाल सिदिङ्मा धाम क्षेत्रको भ्रमण गर्न स्थानीय तथा जिल्लाका अन्य क्षेत्रका नागरिक र पाँचथरबाटसमेत पर्यटकहरू पुग्ने गरेका छन् ।