• १७ वैशाख २०८२, बुधबार

सेती नदीमा पक्की पुल निर्माण

blog

सेती नदीमाथि पुल निर्माण हुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १७ गते । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि मोटर गुड्ने पुल निर्माणको काम धमाधम भइरहेको छ । व्यासको वडा नम्बर ३ को देउरालीनगर, बिसघरे र ऋषिङ गाउँपालिका–१ को झापुटार जोड्ने पुलको निर्माण कार्यले गति लिएको हो ।

निर्माण कम्पनीको ढिलासुस्तीले पुल निर्माण कार्य रोकिएमा हाल भने धमाधम भइरहेको छ । पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको पूर्वाधार विकास कार्यालय दमौलीले जनाएको छ । पटकपटक ताकेता गरेपछि निर्माण कम्पनीले हाल तिब्र रूपमा काम गर्न थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इन्जिनियर रविन्द्र तिवारीले जानकारी दिनुभयो ।  

तिवारीका अनुसार पुलको स्टिल पाटर्सको निर्माण हुने भएकाले फेब्रिकेसन कार्य भइसकेको छ । दुई स्पाममध्ये चालु आर्थिक वर्षमा एक स्पाम निर्माण कार्य पूरा हुने गरी काम गरिरहेको उहाँले जानकारी दिनुभयो । त्यसपछि बाँकी अर्को एक स्पामको निर्माणका लागि निर्माण कम्पनी भारतबाट समान मगाएर झारी सकेको उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ को लागतमा पुल निर्माण भइरहेको तिवारीले जानकारी दिनुभयो । कार्यालयका अनुसार पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौसँग सम्झौता भएको थियो । एक सय ५५ मिटर लामो रहने पुलको चौडाई ९.५० मिटर रहने छ । 

पाइल फाउन्डेसनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । उक्त पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद सहित विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरिएको थियो । सम्झौता अनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेको हुन्थ्यो । सम्झौताको अवधिमा विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । उक्त पुलको हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको कार्यालयले जनाएको छ । 

पुल निर्माणपछि व्यास नगरपालिका ऋषिङ गाउँँ पालिकाका जनतालाई आवतजावतमा सहज हुनेछ । हाल सोही ठाउँमा झोलुङे पुलबाट मानिस र मोटर साइकल आवत जावत गर्छन् ।  त्यसको करिब एक किलोमिटर माथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ । 

त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किलोमिटर दूरी तय गर्नुपर्छ ।  पुल निर्माण पुरा भएपछि दमौली आउन पाँच सय मिटर दूरी मात्रै लाग्छ । झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाइदिँदा पैदलबाट वारपार गर्नेलाई समस्या हुँदै आएको छ । स्थानीयवासीले वर्षौदेखि सेती नदीमाथि पक्की पुलको माग गर्दै आएका थिए । 

पुल निर्माणले गति लिएसँगै स्थानीय बासिन्दामा खुसी छाएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । पुल निर्माण गर्न समय लाग्ने र झोलुङ्गेमा मोटरसाइकल गुड्ने क्रममा बिग्रिएको स्थानमा डेढ लाख खर्च गरेर पालिकाले मर्मत सम्भार गरेको उहाँले जानकारी दिनुभयो ।