• १७ वैशाख २०८२, बुधबार

एक अर्बको लगानीमा औषधी उद्योग

blog

रङ्गेली समाचारदाता

विराटनगर, वैशाख १७ गते । विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्ब रुपियाँ लागतको औषधी उद्योग सञ्चालनमा आएको छ । मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा एलेक्सा लाइफ साइन्सेस प्रालि नामको इलेक्ट्रोलर औषधी उद्योग सञ्चालनमा आएको हो । 

स्वास्थ्य क्षेत्रका क्रियाशील दिनेश ठाकुर र उद्योग क्षेत्रमा क्रियाशील रञ्जित भगतको साझेदारी लगानीमा स्थापित उद्योगले परीक्षण उत्पादन सुरु गरेको छ । उत्पादनको बिक्री भने आगामी साउनदेखि हुने छ । सञ्चालक ठाकुरले भन्नुभयो, “औषधी दुई प्रकारका हुन्छन्, ओरल र इलेक्ट्रोलर हामीले रगतबाट मानव शरीरमा पुग्ने सलाइन पानी उत्पादन गर्ने हो, त्यसैले परीक्षणका लागि केही समय पर्खनुपर्ने छ ।” 

अन्तर्राष्ट्रिय मापदण्डको भवन संरचनामा ल्याब स्थापना गरिएको उद्योगमा मेसिन जर्मन प्रविधिका रहेको बताइएको छ । उद्योगमा एभरेस्ट बैङ्कसँग वित्तीय सहकार्य गरिएको छ जसमध्ये बैङ्कले ६० करोड लगानी गर्ने सम्झौता भएको छ भने साझेदार ठाकुर र भगतको ४० करोड रहेको जानकारी दिइएको छ । 

उद्योगमा हालसम्म ७५ करोड रुपियाँ लगानी भइसकेको र यसको पूर्ण क्षमता सञ्चालनमा आउँदा थप २५ करोड लगानी जरुरी पर्ने सञ्चालक ठाकुरले जानकारी दिनुभयो । हालसम्म बैङ्कले ४५ करोड र लगानी साझेदारले ३० करोड लगानी गरिसकेको पनि जानकारी दिइएको छ । 

उद्योगबाट तीन चरणमा उत्पादन बजारमा ल्याउने लक्ष्य राखिएको छ । पहिलो चरणमा एलभिपीका एक सय एमएलदेखि तीन हजार एमएलसम्म रहने छन् । यसको बजारीकरणपछि दोस्रो चरणमा एसभिपी औषधी उत्पादन गरिने दाबी छ । एसभिपी अन्तर्गत एक एमएलदेखि २० एमएलसम्मका औषधी तयार गरिने छ । यी दुई उत्पादन बजारमा पुगेपछि तेस्रो चरणमा भने इएनटी सेवा अन्तर्गतका ड्रपहरू उत्पादन गरिने सञ्चालक ठाकुरले जानकारी दिनुभयो । 

उद्योग स्थापना र त्यसका उत्पादनबारे जानकारी दिन सञ्चालकद्वारा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा उत्पादनसमेत सार्वजानिक गरिएका थिए । सलाइन पानीका उत्पादनको औषधी व्यवस्था विभागले अन्तिम परीक्षण गरिरहेको जानकारी ठाकुरले दिनुभयो । 

उद्योग पूर्ण रूपमा सञ्चालनमा आउँदा १५० जनाले रोजगारी पाउने दाबी गरिएको छ । उद्योगी ठाकुरले अहिले भारतबाट आयात भइरहेको सलाइन पानीलाई विस्थापित गर्ने लक्ष्य राखिएको दाबी गर्नुभयो । कोशी प्रदेशका लागि यो पहिलो सलाइन पानी उद्योग हो । नेपालका लागि यो दोस्रो उद्योग रहेको दाबी गरिएको छ । वीरगन्जमा सलाइन पानी उत्पादन गर्ने अर्को उद्योग छ । सञ्चालक ठाकुरले तेस्रो चरणसम्मका उत्पादन सफलतापूर्वक बजारीकरण हुने स्थिति देखिए त्यसपछि इन्सुलिन उत्पादनका लागि तयारी गरिने दाबी गर्नुभयो ।