गुणबहादुर रोका
सुलीकोट, वैशाख १५ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुलचुकका भूमिहिन दलितलाई लालपुर्जा वितरण गरिएको छ । आइतबार धार्चे गाउँपालिका–१ हुलचुकका चार घरधुरी भूमिहिन दलितलाई भूमि समस्या समाधान आयोग गोरखाले जग्गाको लालपुर्जा वितरण गरेको हो ।
भूमिहिन दलितलाई जग्गाधनी प्रमाणपत्र लालपुर्जा वितरण गरिएको गण्डकी प्रदेशको पहिलो हो । आयोगले आइतबार धार्चे गाउँपालिकाको कार्यालयमा एक कार्यक्रम आयोजना गरी चार जना भूमिहिन दलित परिवारलाई लालपुर्जा वितरण गरेको आयोगका अध्यक्ष राजनराज पन्तले जानकारी दिनुभयो ।
लालपुर्जा पाउनेहरूमा राजु विक, आइतसिंह विक, रामबहादुर कामी र मङ्गले विक रहेका छन् । उहाँहरूलाई क्रमश २७४.२५, १९५.५०, ३४० र २४१.१४ वर्गमिटर क्षेत्रफल जग्गाको लालपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग गोरखाका अध्यक्ष पन्तको भनाइ छ ।
"हुलचुकका ८ घर भूमिहिन दलित सुकुम्वासीलाई लालपुर्जा वितरण गर्नुपर्नेमा प्राविधिक कारणले चार परिवारलाई मात्र वितरण गरिएको छ", अध्यक्ष पन्तले भन्नुभयो । सबै प्रक्रिया पुगेको तर कर्सैको श्रीमतीहरूको नागरिकता नभएको, श्रीमान् श्रीमती मध्ये एक जनामात्र भएकोले अन्यलाई लालपुर्जा वितरण गर्न नसकिएको उहाँले बताउनुभयो ।
नपाएकाहरूलाई नागरिकता बनाएपछि र श्रीमान् विदेशबाट आउने बित्तिकै लालपुर्जा पाउने भूमि सुकुम्वासी कार्यालयले जनाएको छ । आयोगको तथ्याङक अनुसार गोरखामा अव्यवस्थित बसोवास गर्ने घरपरिवारको सङ्ख्या तीन हजार ५५६ रहेको छ ।
त्यस्तै भूमिहिन दलितको सङ्ख्या १८५ र भुमिहिन सुकुम्वासीको सङ्ख्या १५७ रहेको छ । आवासका लागि प्रतिव्यक्ति साँढे १० आना जग्गा उपलब्ध गराउनुका साथै कृषि प्रायोजनका लागि ५ रोपनी १४ आना जग्ग्गा उपलब्ध गराउने आयोगले जनाएको छ ।
धार्चेको हुलचुकमा आठ जना भूमिहिन दलित भएकोमा चार घरपरिवारले पाए पनि अझै चार घरपरिवारले पाउन बाँकी नै रहेको छ भने लाभग्राहीले कृषि वा आवास मध्ये एउटा सुविधा मात्रा लिन मिल्ने आयोगले जनाएको छ ।