• १५ वैशाख २०८२, सोमबार

भूमि समस्या समाधानका लागि नौ सय ८१ निवेदन

blog

विदुर आचार्य,

चौतारा, वैशाख १५ गते । भूमि समस्यामा रहेका नौ सय ८१ जनाले निवेदन पेस गरेका छन् । भूमि समस्या समाधान आयोग जिल्ला समितिमा उक्त निवेदन दर्ता भएको हो । 

१२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा पाँच स्थानीय तहले मात्र विवरण उपलब्ध गराएका छन् । अन्य सात स्थानीय तहबाट कुनै पनि समस्यामा निवेदन नपरेको आयोगले जनाएको छ । जिल्लाका इन्द्रावती, बलेफी र हेलम्बु गाउँपालिकामा भूमि समस्या रहेको छ । मेलम्ची र चौतारा नगरपालिकामा समस्या रहेको तर बाह्रबिसे नगरपालिकाबाट कुनै पनि निवेदन प्राप्त नभएको आयोगले जानएको छ । 

आयोगको जिल्ला समितिले भूमि सम्बन्धी नियमको बिसौँ संशोधनको खण्ड ६ अनुसार अन्तिम पटक निवेदन माग गरेको छ । २०८२ वैशाख ८ गते आयोगले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरि भूमि समस्या रही निवेदन दिन छुट भएका पीडितहरूलाई अन्तिम पटक सूचना जारी गर्न सकिने भएकोले जानकारी गराउन पत्राचार गरेको हो । 

‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको निवेदन सङ्कलन प्रयोजनका लागि स्थानीय तहले आधार र कारण खुलाई एक पटकका लागि सूचना प्रकाशित गर्न भूमि समस्या समाधान आयोग समक्ष अनुरोध गर्न सक्ने छ भनी उल्लेख भएको हुँदा सबै स्थानीय तहलाई जानकारीका लागि अनुरोध छ,’ पत्रमा उल्लेख गरिएको छ। 

आयोगले स्थानीय तहलाई पठाएको पत्रमा सबै स्थानीय तहमा भूमि शाखा खडा गर्न, वडा र पालिका तहमा भूमि समस्या सहजीकरण समिति गठन गरी जानकारी गराउन अनुरोध गरेको गरेको छ । ‘प्राप्त निवेदन उपर वडा तहको भूमि समस्या समाधान सहजीकरण समितीले प्रमाणीकरण गरी पालिका तहमा पठाउने र पालिका तहले जिल्ला समितीमा उपयुक्त जग्गा सहितको सिफारिस गरी आएपछि आयोगले नापजाँच र पुर्जा वितरण गर्ने छ’, आयोगका जिल्ला अध्यक्ष ज्ञानेन्द्र राउतले भन्नुभयो, ‘सुक्ष्य रूपमा व्यवस्थित तवरबाट काम भइरहेको छ ।’  

आयोग जिल्ला समितिका सदस्य सचिव गोपालनारायण भूजेलका अनुसार स्थानीय तहले आवश्यकता ठहर गरी माग भई आएमा अन्तिम पटक सूचना जारी गर्ने, माग नभएका स्थानीय तहमा समस्या रहित स्थानीय तह घोषणा गर्ने गरी आयोगको काम अघि बढेको छ । 

जिल्लाभर मेलम्ची नगरपालिकामा दुई र हेलम्बु गाउँपालिकामा एक गरी तीन जना भूमिहीन दलितले जग्गा प्राप्तीका लागि निवेदन दिएका छन् । मेलम्ची र चौतारा नगरपालिकामा क्रमश १८ र १४ भूमिहीन सुकुम्वासी रहेको, हेलम्बु गाउँपालिका तीन, इन्द्रावती गाउँपालिका आठ र बलेफी गाउँपालिमा चार जना भूमिहीन सुकुम्वासीले निवेदन दिएको आयोगको जिल्ला समितिले जानकारी दिएको छ । 

त्यस्तै सबैभन्दा बढी इन्द्रावती गाउँपालिकामा आठ सय ४४ जना अव्यवस्थित बसोवास भएकाहरूको निवेदन प्राप्त भएको छ । अव्यवस्थित बसोवास भएका मेलम्ची नगरपालिकामा ३४, चौतारा नगरपालिकामा तीन, हेलम्बु गाउँपालिमा ५० जनाले व्यवस्थित बसोवासका लागि निवेदन दिएको आयोगको जिल्ला समितिले जानकारी दिएको छ ।

जिल्लाका बाह्रबिसे नगरपालिका सहित पाँचपोखरी, जुगल, भोटेकोशी, सुनकोशी, त्रिपुरासुन्दरी र लिसङ्खुपाखर गाउँपालिकाबाट कुनै पनि निवेदन परेको छैन ।