साहारा लिम्बू
फुङ्लिङ, वैशाख १५ गते । कन्चनजङ्घा साहसिक हाल्फ म्याराथन प्रतियोगिताको उपाधि अर्जुन कुलुङ राईले हात पार्नुभएको छ । विश्व तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कन्चन्जङ्घाको प्रवर्धनका लागि आयोजित हाल्फ म्याराथन प्रतियोगिताको उपाधी सोलुखुम्बुका राईले हात पार्नुभएको हो ।
सिरिजङ्घा गाउँपालिकाद्वारा आयोजित जिरिजङ्घा पर्यटन महोत्सव अन्तर्गतको प्रतियोगितामा दुई घण्टा छ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राईले उपाधी चुम्नुभएको हो ।
यस्तै जुम्लाका धिरजबहादुर बुढा प्रतियोगितामा दोस्राे बन्नुभएको छ। बुढाले निर्धारित दुरी दुई घण्टा छ मिनेट ४६ सेकेन्डमा पार गर्दै दोस्राे हुनुभएको म्याराथन व्यवस्थापनका संयोजक निक्की नेम्बाङले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा दुई घण्टा दस मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै ताप्लेजुङका बिबिसन लिम्बू तृतिय बन्नुभएको छ ।
प्रतियोगीतामा प्रथम हुनु भएका राईले दुई लाख आठ हजार पाँच सय छयासी रुपियाँ, दोस्राे हुनु भएका बुढाले एक लाख आठ हजार पाँच सय छयासी र तेस्राे हुनुभएका लिम्बूले ५८ हजार पाँच सय छयासी रुपियाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगीतामा चौथोदेखि दशौं स्थानसम्म आइपुग्ने धाबकलाई नगद आठ हजार पाँच सय छयासी रुपियाँ सहित प्रमाण पत्र प्रदान गारिएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार माबोले जानकारी दिनुभयो ।
कन्चनजङ्घा हिमाल आरोहण तथा भ्रमणका लागि आउने पर्यटकको सहजताका निम्ति पालिकाले निर्माण गरेको नयाँ पैदलमार्गमा म्याराथन प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाको ८ नम्बर वडा याम्फुदिनस्थित नयाँ झोरेनीदेखि दन्डु डाँडासम्मको पैदलमार्गमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।