गोकर्ण दयाल
बैतडी, वैशाख १३ गते । लोकतन्त्र स्थापना भएको १९ वर्ष बितिसक्दा पनि समाजमा दलित भनिएका समुदायले उत्पादन गरेको दुध अझै चल्न सकेको छैन । बैतडीलगायत सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा महिनावारी भएका महिलालाई पाँच दिनसम्म दुधदही दिइँदैन भने अर्कोतर्फ दलित समुदायले उत्पादन गरेको दुधदही सदिऔँदेखि कथित उच्च वर्गले चलाउने गरेका छैनन् ।
समाजमा अझै जातीय छुवाछुत र भेदभाव कायमै रहेकाले कृषि र पशुपालनमा लागेका दलित समुदायको घिउ चले पनि दुध चल्न नसकेको दलित अगुवा राजुराम भुलले बताउनुभयो । गाउँपालिका र नगरपालिकाका क्षेत्रमै जातीय भेदभावका कारण दुध नचलेपछि दलित समुदायका मानिस पशुपालन व्यवसायमा लाग्न नसक्दा रोजगारीका लागि भारत पलायन हुने गरेका छन् ।
लोकतन्त्र स्थापनापछि बजार क्षेत्रमा भने दलित समुदायले दुध हालेको चिया खान पाउन थालेको दलित समाज विकासमञ्च बैतडीका सचिव दलभद्र दयालले बताउनुभयो । उहाँले जातीय रूपमा छोइटिटो गर्ने परम्परा हटे पनि अन्य समुदायको जस्तो पशुपालन गरेर दुध बेचेर जीविका चलाउन सक्ने अवस्था नरहेको बताउनुभयो । दलित र महिनावारी भएका महिलाले दुधदही खाएमा गाईभैँसी बिग्रन्छन् भन्ने अन्धविश्वास हटाउन धामीझाँक्री र पुजारी अग्रसर हुनुपर्ने बनारसीधामका पूजारी गणेशप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “रूढीवादी परम्परा हटाउन कानुनको पालना र जनचेतना जगाउनु पर्छ । विदेश गएर जुठो भाँडा माझ्नुभन्दा स्वदेशमै गईभैँसी पालेर दुधदही बिक्री गर्ने वातावरण स्थानीय सरकारले मिलाउनु पर्छ ।”
राष्ट्रिय जनगणना २०७८ अनुसार बैतडीमा दलित समुदायको ५० हजार जनसङ्ख्या रहेको छ तर १० पालिकाका ८४ वडामा कतै पनि दलित समुदायमा व्यक्ति दुग्ध व्यवसायमा लागेको भेटिएको छैन । जिल्लाका कतिपय गाउँपालिका केन्द्रमै दुध नै पाइँदैन । बजारमा दुध बिक्री गरे दलित वा छाउ भएका महिलाले खान सक्छन् भन्ने अन्धविश्वासका कारण ग्रामीण भेगका किसान दुध बिक्री नै गर्दैनन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीको तथ्याङ्क अनुसार जिल्लामा २४ हजार दुधालु गाईबाट वार्षिक छ हजार ४८० मेट्रिक टन र १९ हजार दुधालु भैँसीबाट वार्षिक नौ हजार ८९५ मेट्रिक टन दुध उत्पादन हुने गरेको छ । कार्यालय प्रमुख गुमानीदत्त पन्तका अनुसार प्रतिव्यक्ति वार्षिक आधारभूत ९१ लिटर दुध आवश्यक पर्नेमा बैतडीमा ९६ लिटर प्रतिव्यक्तिमा उपलब्धता रहेको बताउनुभयो । गाउँघरमा एक समुदायले अर्को समुदायलाई सितिमिति दुध नदिने भएकाले गोरसका लागि भए पनि प्रत्येक घरपरिवारमा गाईभैँसी पाल्ने चलनका कारण दुधको उपलब्धता रहेको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रका अधिकांश किसान व्यावसायिक पशुपालनमा लाग्न नसक्दा आर्थिक अवस्था बलियो बन्न नसकेको पशु प्राविधिकले बताएका छन् ।