राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) वैशाख २ गते । स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित कालीगण्डकीको तटमा रहेको पुरानो घाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने भएको छ । घाटसँगै रहेका पौवा तथा मन्दिरको पुननिर्माण अभियानसँगै धार्मिक पर्यटकीय क्षेत्र बनाउन सुरु गरिएको हो ।
नयाँ वर्ष २०८२ को सुरुवातसँगै सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरिएको हो । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्नुभएको हो ।
कालीगण्डकी नदीको महत्त्व जोगाई राख्न गण्डकी तटमा भएका घाट, पौवा तथा मन्दिर लगायतको संरक्षण गर्नु पर्नेमा मन्त्री बस्यालको जोड छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले ऐतिहासिक क्षेत्रलाई संरक्षण र तथा प्रवर्धन गर्न आफूहरूले विशेष ध्यान दिएको बताउनुभयो ।
सदियौंदेखि आफ्नो छुट्टै पहिचान बनाएको हुँगीघाटमा रहेका संरचानको पुननिर्माणको काम पूरा भएको स्थानीय मोहन डुम्रेले बताउनुभयो । सात रोपनी क्षेत्रमा फैलिएको घाट क्षेत्रलाई बढाएर १५ रोपनी पुर्याउन लागिएको उहाँको भनाइ छ ।
शुभयात्रा संस्थाले पुराना भौतिक संरचनाको पुननिर्माण गरिरहेको संस्थाका अध्यक्ष मधुसुदन गैह्रेले जानकारी दिनुभयो । पुर्णचन्द्र गैह्रे, हरिप्रसाद गैह्रे, गोपिकृष्ण गैह्रे, मनिप्रसाद गैह्रे,चुरामणी गैह्रे लगायतले वर्षाैं पहिले निर्माण गरेका संरचानलाई नयाँ स्वरूप दिइएको उहाँको भनाइ छ ।
हुँगीघाटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन लागेको संस्थाले मुस्ताङको दामोदर कुण्डदेखि नवलपुरको सुस्ता सम्मका क्षेत्रका पुराना घाट तथा पाटीपौवाको खोजी गर्ने भएको छ। संस्थाले १९ वटा एतिहासिक क्षेत्रमा काम गर्ने अध्यक्ष गैह्रेको भनाइ छ ।