काठमाडौँ, चैत ३० गते । काठमाडौँ महानगरपालिका–१६ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल बालाजु बाइसधारामा आजदेखि बाइसधारा मेला सुरु भएको छ । नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष आयोजना गरिने यो मेला हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र बनेको छ।
मेलाको पहिलो दिन शनिबार बिहानैदेखि स्नान गर्न र पूजा अर्चनाका लागि भक्तजनहरूको भिड लागेको छ । २२ धाराबाट लगातार बगिरहेको शुद्ध पानीमा स्नान गरेमा शारीरिक र मानसिक शुद्धि हुने विश्वास रही आएको छ। विशेषतः चैत शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक मान्यता छ ।
बालाजु बाइसधारा धार्मिक महत्त्वका साथै सांस्कृतिक र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण स्थल हो । यस मन्दिर परिसरमा बुद्धका मूर्तिहरू, प्राचीन स्तम्भहरू, जल कुण्ड र हरियालीले पर्यटकलाई आकर्षित गर्छ। मेलाको समयमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने दर्शनार्थी, साथै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य हुने गर्छ।
वडा नं. १६ का अध्यक्षसहित स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको समन्वयमा मेलाको व्यवस्थापन गरिएको छ। मेलाको सफल व्यवस्थापनका लागि स्वयं सेवक टोली, स्वास्थ्य सहायता कक्ष र ट्राफिक व्यवस्थापनसम्बन्धी तयारी पूरा गरिएको वडाले जनाएको छ।यस अवधिमा धार्मिक क्रियाकलाप, सांस्कृतिक प्रस्तुति र स्थानीय उत्पादनको प्रदर्शनीसमेत गरिएको छ ।