शिवकुमार काशी
हेटौँडा, चैत २८ गते । चेपाङ जातिको उद्गम मानिएको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
आठ वर्षअघि २०७३ सालमा तत्कालीन स्वास्थ्य चौकीको भवनमा गाउँपालिकाको प्रशासनिक कार्यालय स्थापना भएको थियो । त्यसयता लगातार सोही भवनबाट कार्य सम्पादन हुँदै आएकामा अब नयाँ भवनबाट छिट्टै सेवा दिने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनु भएको छ । राक्सिराङ गाउँपालिका ५ चैनपुरमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणाधीन छ ।
निर्माणाधीन तीन तले प्रशासनिक भवनमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत कार्यालयहरूसहित सुविधासम्पन्न हल र अन्य विभिन्न शाखा प्रशाखाहरू समेत सञ्चालन गर्नेगरी निर्माण गरिएको हो । अहिले भवनको आन्तरिक डेकोरेसनका कामहरू अन्तर्गत टायल बिछ्याउने कार्य भइरहेको छ ।
२०७८ साल असाढ १४ गते जयमाता इन्जिनियरिङ कन्ट्रक्सन प्रालिसँग भएको सम्झौता बमोजिम भवन निर्माणको कामले अन्तिम रूप ग्रहण गरिरहेको गाउँपालिका योजना शाखा प्रमुख चुननारायण श्रेष्ठले बताउनुभयो । मूल्य अभिवृद्धि करसमेत गरी कूल ६ करोड १७ लाख ४३ हजार १०१ रुपियाँ ५ पैसा लागतमा कन्ट्रक्सनले ठेक्का पारेको हो ।
अघिल्लो कार्यकालका समेत अध्यक्ष रहनुभएका मल्लले अघिल्लो कार्यकालमै काम सकाउने गरी भवन निर्माणको काम अघि बढाएको भए पनि जग्गा प्राप्तिका लागि समय लागेका कारण ढिलाई भएको बताउनुभयो ।
उहाँले सरकारी स्वामित्वमा रहेको जग्गा र तत्कालीन जिल्ला विकास समितिको स्वामित्वमा रहेको जग्गालाई पालिका मातहतमा ल्याउनका लागि समय लागेकाले निर्माण कार्यमा बिलम्ब भएको जानकारी दिनुभयो । "ठेक्का लागेकै समयमा कोभिड १९ को समस्या बिकराल भएर आयो", अध्यक्ष मल्लले भन्नुभयो, "कोभिडको तनाव एकातिर र अर्काेतिर प्रशासनिक कुराहरू मिलाउन नसक्दा हामीले समयमै भवन निर्माण सम्पन्न गर्ने सकेनौँ ।"
आफ्नो दोस्रो कार्यकालको अन्त अन्ततिर भए पनि भवन निर्माण सम्पन्न हुन लागेको उल्लेख गर्दै अध्यक्ष मल्लले आफ्नै कार्यकालमा ठुलो भौतिक संरचना निर्माण हुँदा निकै खुसी लागेको बताउनुभयो । आफू अध्यक्ष पदमा विजयी भएर आउँदा स्वास्थ्य चौकी, कृषि स्वास्थ्य केन्द्र र स्थानीय छात्रावास भवनमा पदभार ग्रहण गरेको सम्झँदै अहिलेसम्म पनि स्वास्थ्य चौकी भवनमा बसेर काम गर्नुपरिरहेको अध्यक्ष मल्लले बताउनुभयो ।
स्वास्थ्यचौकी भवनलाई समेत अहिले राक्सिराङ ५ ठाडेचुरीस्थित राक्सिराङ अस्पताल भवनमा गाभेर सेवा प्रवाह हुँदै आइरहेको छ ।