चितवन समाचारदाता
चितवन, चैत २५ गते । दुई सातादेखि वायुप्रदूषणले गर्दा स्थानीय जनजीवन प्रभावित भएको छ । बिहानदेखि साँझसम्मै तुवाँलो लागेर मौसम खुल्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन सबै स्थानमा डढेलोले वन सखाप बनाएको छ ।
वातावरण खराब भएकै कारण आँखा पोल्ने, पाक्ने, चिलाउनेलगायतको समस्याका कारण अन्य दिनमा भन्दा धेरै बिरामी अस्पताल आउने गरेको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरे बताउनुहुन्छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले पछिल्लो दुई साता दमका बिरामी, आँखा पोल्ने, रुघा लाग्ने, सुक्खा खोकीका बिरामी बढेको जानकारी दिनुभयो । वातावरण प्रदूषणका कारण प्रभावित यस्ता बिरामी बढी देखापर्ने उहाँले बताउनुभयो । बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र धुलोधुवाँबाट जोगिन उहाँले सुझाव दिनुभयो ।
वनजङ्गलको डढेलो र पछिल्लो समय गाउँघरतिर खेतबारीमा लगाइने आगोबाट निस्किने धुवाँका कारण वातावरण प्रदूषण हुने गरेको उहाँको भनाइ छ । डढेलोको उच्च मौसममै चितवन निकुञ्जभित्र लाग्ने विव्रmमबाबा मेलामा भक्तजनको व्यापक वृद्धि भएको छ । निकुञ्जको कसरानजिक जङ्गलमा मेला लागेको हो । चैत मसान्तसम्म चल्ने मेलामा अहिले दैनिक हजारौँ भक्तजन पूजापाठ गर्न गइरहेका छन् ।
मेला लागेकै स्थाननजिक डढेलो निरन्तर फैलिरहेको छ । निकुञ्जमा नियन्त्रित डढेलो लागेकाले ठुलो असर नपर्ने प्रमुख संरक्षण अधिकृत गणेश पन्त बताउनुहुन्छ । “मेलामा मानिसको अत्यधिक भिडभाडले गर्दा धुलो र अहिलेको डढेलोले केही प्रभाव पार्न सक्छ तर हामीले नियमित गर्ने नियन्त्रित डढेलोले ठुलो प्रभाव नपारेको मान्दछौँ,” उहाँले भन्नुभयो । चैतको अष्टमी र नवमीमा भक्तजनको घुइँचोले गर्दा प्रदूषण थप बढेको छ । मेलामा आउनेका आँखामा समस्या भएको छ । डढेलो प्रभावित क्षेत्रमा भक्तजनको भिडले दीप प्रज्वलन गर्ने, अगरबत्ती तथा धुप बाल्ने जस्ता कार्यले गर्दा प्रदूषण वृद्धि गर्न मद्दत पुगेको संरक्षणकर्मीले बताएका छन् ।
हिउँदमा पानी नपरेका कारण डढेलो लाग्नबाट जोगाउन मुस्किल भएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलको भनाइ छ । “हामीलाई पनि काम गर्न ज्यादै कठिन भइराखेको छ । आगो निभाउन दमकलको प्रयोग गर्दै आएका छौँ । सामुदायिक वनका प्रतिनिधिले पनि सहयोग गर्नुभएको छ । सुरक्षाकर्मीको पनि सहयोग पाएका छौँ तर नियन्त्रणमा लिन सकिएको छैन,” उहाँले भन्नुभयो ।
संरक्षणकर्मी सुराजन श्रेष्ठले वनमा जथाभाबी लगाइएको डढेलोका कारण निस्किएको धुवाँले यहाँको वायुप्रदूषण निकै बढेको बताउनुभयो । “तुवाँलोले वरपर डम्म छोपिँदा र यात्रु तथा स्थानीयका आँखा पोल्दा पनि सम्बन्धित निकाय मौन छन् । यहाँ जथाभाबी डढेलो लगाइएको छ,” उहाँले भन्नुभयो, “सरकारी निकायको ध्यान पुग्नुपर्ने हो ।”
डिभिजन वन कार्यालय चितवनका अनुसार अहिलेसम्म दुई हजार हेक्टरभन्दा बढीमा डढेलो लागिसकेको छ । यो क्रम अझ वृद्धि हुने कार्यालयले जानकारी दिएको छ । निकुञ्जमा लागेको मेलाबाट फर्किनुभएका भरतपुरका स्थानीय केशव पौडेलले भन्नुभयो, “आँखा पोलेर औषधी हालिरहेको छु ।” मेलाबाट आएपछि आँखा दुखेर चिकित्सकको सल्लाहमा औषधी लगाएको उहाँले बताउनुभयो । पानी नपर्दासम्म डढेलो नियन्त्रणमा नआउने वन कार्यालयले जानकारी दिएको छ ।