शेरबहादुर राई
ओखलढुङ्गा, चैत २४ गते । ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ । नेपालका सात अग्ला डाँडा मध्येको एक ३३५० मिटर उचाईमा रहेको जिल्लाकै अग्लो देम्बाडाँडामा पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव सञ्चालन गरिने भएको हो ।
पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र सुशासनका लागि खेलकुद भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा वैशाख १ र २ गते हुने गल्फ महोत्सव सञ्चालन हुदैँछ । महोत्सवमा विभिन्न छ देशका खेलाडी सहभागी हुनेछन् । नेपाल सरकारले सूचिकृत गरेको १०० गन्तव्य मध्येको एक देम्बाडाँडा र समग्र जिल्लाकै पर्यटन विकाससँग जोडेर खिजीदेम्बा गाउँपालिकाले महोत्सव आयोजना गर्न लागेको अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।
अध्यक्ष शेर्पाका अनुसार महोत्सवको अवसरमा आयोजना हुने गल्फ प्रतियोगितामा अमेरिका, बेलायत, क्यानाडा, कोरिया र भुटान लगायतका छ देशका र नेपालका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन् । पालिकाको समग्र विकासका लागि विभिन्न सम्भावना खोजी गर्दा पर्यटन क्षेत्रबाट गाउँपालिका सँगै जिल्ला र देशलाई नै आर्थिक रुपमा सहयोग पुग्ने भएकाले गल्फका लागि पूर्वाधार विकास गरेर प्रतियोगिता सहितको महोत्सव आयोजना गरिएको अध्यक्ष शेर्पाले भन्नुभयो ।
‘पहिलो वर्ष नै छ देशका विदेशी र नेपालका ख्यातिप्राप्त खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने सुनिश्चित भईसकेको छ । पर्यटन विकासमा जिल्लामै प्रचुर सम्भावना भएको खिजीदेम्बाले सम्भावना चुम्दै विश्व भरका पर्यटक तान्ने लक्ष्य राखेको छ,’ अध्यक्ष शेर्पाले भन्नुभयो । हरेक नयाँ वर्षको अवसरमा देम्बाडाँडामा गल्फ महोत्सव गर्ने नीतिगत निर्णय गरेको खिजीदेम्बाले महोत्सवका लागि यसवर्ष १० लाख बजेट विनियोजन गरेको छ ।
पालिकाले केही समय अघि गल्फ प्रतियोगिता सञ्चालनका लागि विज्ञद्धारा सम्भाव्यता अध्ययन गरेको थियो । खिजीदेम्बा गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि १ महिनाअघि ३ दिने जातिय पहिचान सहितको सास्कृतिक महोत्सव सञ्चालन गरिएको थियो ।
विभिन्न चार वटा पर्यटन रुट निर्माण, ट्रेक एण्ड गल्फ अवधारणा, अल्ट्रा रेस म्याराथन, साइक्लिङ प्रतियोगिता आयोजना र रक क्लाइम्बिङको समेत पूर्वाधार विकास गरिएको छ । साहसिक खेलका लागि पूर्वाधार विकासपछि प्रतियोगिताहरु आयोजना गर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
२०७४ वैशाख १ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा सोही स्थानमा प्रथम थोलेदेम्बा महोत्सव आयोजना गरिएको थियो । नेपालको नक्साङ्कन गर्दा तत्कालिन समयमा देम्बाडाँडासहित नेपालका ७ अग्ला डाँडालाई केन्द्र बनाइएको थियो ।