• २५ चैत २०८१, सोमबार

तरङ्ग खोलामा अलपत्र पुल निर्माणको काममा पुनः सुरु

blog

कालीगण्डकी कोरिडोरअन्तर्गत गैँडाकोट –३ र बुलिङटार –१ जोड्ने तरङ्ग खोलाको निर्माणाधीन पुल । तस्बिर : ज्ञानु पंगेनी

ज्ञानु पंगेनी
मध्यविन्दु, चैत २४ गते ।
कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी पूर्व (नवलपुरको) तरङ्ग खोलाको पुल निर्माणको काम पुनः सुरु भएको छ ।

लामो समय अलपत्र बनेको पुल निर्माणको काम अहिले अघि बढेको हो । सात वर्ष अघि पुल निर्माणको काम सुरु भए पनि काम सम्पन्न हुन सकेको थिएन । निर्माण कम्पिनीले अहिले काम अघि बढाएसँगै काम सम्पन्न हुन्छ कि ? भन्ने आशा पलाएको स्थानीय खड्क बहादुर कुमालले बताउनुभयो ।

कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपुरको गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन उक्त पुल विस २०७५ सालमा लोहनी एण्ड ब्रोदर्श प्रालीले विसं. २०७६ माघ मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको थियो । उक्त समयमा काम सम्पन्न नभएपछि २०८१ चैत मसान्तसम्मका लागि म्याद थप गरिएको थियो ।

गण्डकी प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको कालिगण्डकी कोरिडोरमा पर्ने तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइसहितको पुल चार करोड ३५ लाख ६७ हजारमा ठेक्का लागेको थियो । पुलको ६५ प्रतिशत काम सम्पन्न भइसकेको थियो । पुल अलपत्र पारेको निर्माण कम्पनी म्याद सकिने समयमा बल्ल काममा फर्किएको छ । पुलको स्ल्याबको काम बाँकी छ । जसलाई सम्पन्न गर्न अहिले निर्माण कम्पनी लागेको छ ।

पुल निर्माणको कार्यमा ठेकेदारले विभिन्न बहना बनाउँदै अलपत्र पार्दा स्थानीयले सास्ती खेप्दै आएका छन् । पुल निर्माण नहुँदा पानी पर्ने वित्तिकै यस खोलामा यातायात पूर्णरूपमा अवरुद्ध हुने गरेको छ । पुल निर्माण नहुँदा बाटो बने पनि पानी पर्ने बित्तिकै रोकिनुपर्ने अवस्था रहेको बुलिङटारका स्थानीय कोषराज पौड्यालले बताउनुभयो । 

कालिगण्डकी कोरिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्डमा पर्ने तीस वटा पुलमध्ये तरङ्ग खोलाको पुल मात्र निर्माणको काम बाँकी रहेको गैडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका सब इन्जिनियर दिवस सिलवालले बताउनुभयो । पुल निर्माणको काम रोकिएकोमा योजनाको ताकेताले ठेकेदार काममा फर्किएको र अब चाँडै पुल सञ्चालन गर्ने गरी आफूहरूले समन्वय गरिरहेको सब इन्जिनियर सिलवालले बताउनुभयो ।