चितवन समाचारदाता
चितवन, चैत २४ गते । शैक्षिक सत्र सुरु भइसक्दा समेत पाठ्यपुस्तक पाइएन भन्ने गुनासो बिगतमा आउने गरेकोमा अब भने त्यस्तो नहुने भएको छ । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र सुरु हुनुभन्दा केही हप्ताअगाडिदेखि नै विद्यालयमा पाठ्यसामग्री पु-याउने व्यवस्था गरेको छ ।
गत वर्ष पनि जनक शिक्षा सामग्री केन्द्र, प्रादेशिक कार्यालय भरतपुरले नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक बिक्री गरेको थियो । यस वर्ष पनि नयाँ शैक्षिक सत्र सुरु हुनु दुई हप्ताअगाडिदेखि नै पुस्तक बिक्री गर्न थालिसकेको छ । “अब पाठ्यपुस्तक पाइएन भन्ने गुनासो पुरानो भएको छ,” कार्यालयका प्रमुख धनबहादुर केसीले भन्नुभयो, “सूचीकृत पुस्तक बिक्री केन्द्रले तोकिएको शुल्क बुझाएर सामग्री लैजान सक्ने छन् । कार्यालयले विभिन्न जिल्लामा सामग्री पठाउन थालिसकेको छ,” उहाँले भन्नुभयो । पूर्वी तनहुँका आँबुखैरहनी र देवघाट गाउँपालिकाबाट कक्षा ३ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक बिक्री गर्न थालिएको छ भने बारा जिल्लामा पाठ्यपुस्तक पठाइएको छ ।
“चैत २३ गते शनिबार नवलपरासीको गैँडाकोट क्षेत्र, २५ र २६ गते चितवन जिल्लाका लागि पाठ्यपुस्तक बिव्रmी गरिने छ । जनक शिक्षामा सूचीकृत भएका व्यवसायीले पाठ्यपुस्तक लाने छन्’” प्रमुख केसीले भन्नुभयो, “शैक्षिक सत्र सुरु नहुँदै सबै विद्यार्थीको हात हातमा पुस्तक पुग्ने छ ।” “पुस्तक लैजान विद्यालयलाई अनुरोध गरेका छौँ,” उहाँले भन्नुभयो, “अहिले वार्षिक परीक्षा सकिएको छैन भनेर लैजान आलटाल गर्नुभएको छ, अब पाठ्यसामग्री पाइएन भन्ने गुनासो कतै सुन्नुपर्ने छैन ।” जनक शिक्षा भरतपुरले गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री गरेको थियो । यस शैक्षिक सत्रमा ३० लाख ९६ हजार पुस्तक कार्यालयमा प्राप्त भएको छ । प्राप्त भएका सबै बिक्री नभए पनि अधिकतम बिक्री गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख केसीले बताउनुभयो ।
गत वर्ष पुस्तक बिक्रीबाट २० करोड ५८ हजार २२३ रुपियाँ जम्मा भएको थियो । यो वर्ष अधिकतम बिक्री गर्ने तयारी कार्यालयले गरेको छ । प्राप्त पुस्तक सबै बिव्रmी भएमा ३१ करोड १५ लाख ५० हजार ९८७ रुपियाँ राजस्व सङ्कलन हुने कार्यालयले जानकारी दिएको छ । शैक्षिक सत्र सुरु नहुँदै पुस्तक बजारमा पठाउन थालेकाले गत वर्षभन्दा अहिले धेरै बिक्री हुने अपेक्षा राखेको प्रमुख केसीले भन्नुभयो । गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिव्रmी गरेको थियो, यो वर्ष कक्षा ३ देखि नै जनकले पाठ्यपुस्तक बिक्री गरेको हो । अहिलेसम्म तीन करोड २२ लाख ८१ हजार ८३८ रुपियाँको पुस्तक बिव्रmी भइसकेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक केदारराज विष्टले जानकारी दिनुभयो ।
यस शैक्षिक सत्रमा अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक बढी बिक्री हुने प्रक्षेपण जनकले गरेको छ । “अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने विद्यालय बढिरहेका छन्, नेपाली माध्यमका पाठ्यपुस्तक कम बिक्री हुने देखिन्छ,” जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी केदारराज विष्टले भन्नुभयो । यस वर्ष कक्षा १, २ र ४ को सामुदायिक विद्यालयको पाठ्यपुस्तक निजी क्षेत्रबाट बिक्री हुने छ भने अन्य कक्षाको पाठ्यपुस्तक जनक शिक्षा सामग्रीबाट हुने छ तर कक्षा ४ को पाठ्यपुस्तक जनक र निजी क्षेत्र दुवैबाट बिक्री हुने छ ।
“निजी क्षेत्रले मौज्दात रहेको भन्दै कक्षा ४ को पाठ्यपुस्तक यो वर्ष बिक्री गर्न माग ग-यो, त्यो अनुसार जनकसँग सहमति भयो,” जनक शिक्षा सामग्री केन्द्रका प्रमुख धनबहादुर केसीले भन्नुभयो । नेपाल सरकार शिक्षा मन्त्रालयको निर्देशन अनुसार चैत २५ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री गर्नुपर्ने छ । भरतपुरको प्रादेशिक कार्यालयले बारा, पर्सा, रौतहट, मकवानपुर, चितवनसँगै पूर्वी नवलपरासी र तनहुँको पूर्वी क्षेत्रमा समेत पाठ्यपुस्तक बिक्रीवितरण गर्दै आएको छ । चितवनमा दुई करोड रुपियाँ बराबरको पुस्तक बिक्री हुँदै आएको छ । यो वर्ष चितवनमा केही पाठ्यपुस्तकको बिक्री अवश्य बढ्ने देखिन्छ । जनकसँग सूचीकृत भएका व्यवसायी सबैभन्दा बढी चितवनमा छन् । चितवनमा हालसम्म एक सय व्यवसायीले पसल सूचीकृत गरेका छन् । सूचीकृत भएका पसलले मात्र पाठ्यपुस्तक बिक्री गर्न पाउँछन् । स्थानीय तहले विद्यालयको खातामा पैसा हाल्छन् र विद्यालयले नै विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक खरिद गर्छन् । “सहज रूपमा पाठ्यपुस्तक बिक्री भइरहेको छ, पुस्तकको मूल्य पनि बढेको छैन,” प्रमुख केसीले भन्नुभयो ।