• २५ चैत २०८१, सोमबार

एसइई सकियो, अब के गर्ने ?

blog

शिक्षा क्षेत्रमा एसइईको विशेष महत्व छ । एक समय यसलाई हाउगुजी बनाउन स्कुले जीवनको फलामे द्वारसमेत भन्ने गरिन्थ्यो । ग्रेडिङ प्रणालीको सुरुवात भएसँगै बिस्तारै हाउँगुजी पनि कम हुँदै गयो । तथापि नेपालमा सबैभन्दा धेरै चर्चा हुने शिक्षा क्षेत्रका लागि एसइई नै हो । यसलाई नै आधार बनाएर समग्र शिक्षा क्षेत्रलाई मूल्याङ्कनसमेत गर्ने गरिन्छ ।

एसइई परीक्षा सुरु भएदेखि नतिजा नआउँदासम्मका लागि यसको चर्चा कायमै हुन्छ । स्कुले जीवनको किनारा भएकाले पनि होला एसइई दिने विद्यार्थीका अभिभावकले पनि यसमा बढी चासो र चिन्ता लिने गरेको पाइन्छ । आफ्ना बालबालिकाकाको अन्य परीक्षा आएको गएको पत्तै नपाउने अभिभावकले पनि एसइई आउन थाल्यो भने महिना दिन अगाडिबाट विशेष चासो र चिन्ता व्यक्ति गरिरहेका हुन्छन् । हरेक दिन बिहान पूजा गरेर विद्यार्थीलाई टीका लगाएर परीक्षा केन्द्रमा समेत पठाउने काम अभिभावकले गरिरहेका हुन्छन् । 

यो वर्ष पाँच लाख १४ हजार बालबालिकाले एसइईको परीक्षा दिएका छन् । परिवार, साथीभाइ, विद्यालय अनेकानेक पक्षको राम्रो अङ्क ल्याउनुपर्ने दबाबमा परीक्षा दिएका विद्यार्थीले एसइईपश्चात् स्वतन्त्र महसुस गरेका छन् । एसइई दिएका विद्यार्थीलाई निकै ठुलो सङ्कट टरेको आभाष भएको छ । यो खाली समय उनीहरू विभिन्न खालका आफ्ना अभिरुचिका काम गरेर व्यतीत गर्न चाहन्छन् । यो आम मनोवृत्ति पनि हो । अभिभावकले यो समयमा आफ्ना बालबालिकाहरूलाई खास ध्यान दिनुपर्ने देखिन्छ । 

एसइईपश्चात् आफ्ना बालबालिकालाई स्वतन्त्र पन्छी जसरी खुला रूपमा घुम्न दिने या केही सिर्जनात्मक कार्यमा उनीहरूलाई सहभागी गराउने भन्ने बारेमा अभिभावक चिन्तनशील हुनु नितान्त आवश्यक छ । अभिभावकले बेलगाम आफ्ना बालबालिकालाई छाडिदिने हो भने त्यसले राम्रो परिणामा पक्कै पनि ल्याउँदैन । एसइईपश्चात् आफ्ना बालबालिकालाई अभिभावकले उल्लिखित केही कुरामा ध्यान दिनु पर्छ । यसले विद्यार्थीको समय उत्पादनशील र सिर्जनात्मक हुनुका साथै उनीहरू गलत बाटोमा लाग्न सक्ने सम्भावना रहँदैन । 

तनाव व्यवस्थापन : विद्यार्थीले एसइईको लामो समयदेखि तनाव र दबाब झेलिरहेको हुन्छ । कक्षा १० मा पुगेदेखि नै उनीहरूले यसखालको तनाव झेल्नु परेको हुन्छ । सानै उमेरमा विभिन्न खालका तनाव झेल्नुपर्दा बालबालिकामा मानसिक थकान सिर्जना भएको हुन्छ । परीक्षा सकिने वित्तिकै उसलाई त्यो तनावबाट बाहिर आउनका लागि केही समय आफूलाई मन परेको कार्य गर्न लगाउनु पर्छ । बालबालिकालाई सङ्गीत, सिनेमा, खेलकुदलगायतका आफ्नो रुचिका क्षेत्रमा रमाउने वातावरण सिर्जना गर्नु पर्छ । उसको रहरमाथि अभिभावक साधक बनिदिनु पर्छ । यसले बालबालिकालाई नयाँ कार्य गर्नका लागि उत्प्रेरणाका साथै ऊर्जा पनि प्रदान गर्छ । अभिभावकले यसमा बालबालिकालाई स्वतन्त्र छोडिदिनु पर्छ । उसले के गरिरहेको छ भन्ने कुराको हेक्का भने गरिरहनु पर्छ । यसले बालबालिकालाई नयाँ यात्रा र कामका लागि तयारीसमेत बनाउँदा । कतिपय बालबालिकाले अभिभावकको डरले आफ्नो रहरका बारेमा अभिव्यक्त गर्न नसक्ने पनि हुन सक्छ । यसलाई अभिभावकले सहजीकरण गरिदिनु पर्छ । 

सिप सिकाउने : एसइईपछिको तीन महिना भनेको लामो समय नै हो । यो समयलाई उपलब्धिमूलक बनाउन बालबालिकालाई समय सुहाउँदा विभिन्न सिप प्रदान गर्नु पर्छ । यस्ता सिप बजारको माग र विद्यार्थीको अभिरुचिलाई सम्बोधन गरेर सिकाउनु पर्छ । अहिले विभिन्न छोटो अवधिको तालिम सिकाउने इन्स्टिच्युटहरू सञ्चालनमा रहेका छन् । जस्तै कम्प्युटर, बेकरी, कपाल काट्ने, अटोमोबाइल, विद्युत् रिपेयरिङ, हस्पिट्यालिटीलगायतका विभिन्न क्षेत्रमा तालिम सञ्चालन भइरहेका हुन्छन् । यस्ता तालिमबाट बालबालिकामा सिपको विकास हुनुका साथै उद्यमशीलताको सोचसमेत सिर्जना भएको हुन्छ । आजको समयमा बालबालिकालाई समाजसँग प्रतिस्पर्र्धी बनाउन यस्ता सिपको निकै महìव हुने गर्छ । यस्ता सिपले बालबालिकालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ । यसले एकातिर विद्यार्थीको समयको सदुपयोग हुन्छ भने अर्कातिर उनीहरूलाई सृजनशीलसमेत बनाउने गर्छ । कतिपय बालबालिकाले यही समयमा सिकेको सिपले जीवनसमेत निर्वाह गरिरहेका हुन्छन् । 

ब्रिज कोर्स : विद्यार्थीमा वृज कोर्स पढ्ने अहिले एक प्रकारको फेसन जस्तै चलेको छ । फेसनका रूपमा यसको अध्ययन गर्नुको फरक प्रभाव होला तर आवश्यकता अनुसार यो अध्ययन गर्न सकियो भने आगामी शैक्षिक यात्राका लागि निकै नै फलदायी हुने देखिन्छ । एसइईपश्चात् आफूलाई पढ्न मन लागेको विषयमा आधारभूत कुरा सिक्न र जान्नका लागि यो निकै प्रभावकारी मानिन्छ । विद्यार्थीले ब्रिज कोर्स अध्ययन गर्दा आफूले पछि के विषय अध्ययन गर्ने भन्ने बारेमा पनि विशेष ख्याल गर्नु पर्छ । आफूले अध्ययन गर्ने विषयको सन्निकटमा रहेर ब्रिज कोर्श अध्ययन गर्न सकियो भने त्यो फलदायी साबित हुन्छ । 

आफन्तजन भेट्ने : डिजिटल प्लेटर्फमले हामीले नयाँ नयाँ मान्छे त भेट्न छाडेका छौँ आफन्तीलाई पनि भेट्न छाडेका छौँ । आजका बालबालिकाले आफन्तीसँग भेटघाट नहुँदा चिन्नसमेत छाडेका छन् । यस कुरालाई मध्यनजर गरेर एसइईपश्चात् आफन्ती र अग्रजसँग भेट्ने, उनीहरूका अनुभव सुन्ने । पुराना मान्छेका पुराना कुरा सुन्ने गर्नु पर्छ । यसले बालबालिकालाई मान्छेहरूसँग कसरी घुलमिल हुने भन्ने कुरा सिकाउनुका साथै आफन्तीका बारेमा पनि जानकारी दिने गर्छ । 

शैक्षिक योजना बनाउने : एसइईसम्म साधारणखालको शिक्षा हुने भएकाले विद्यार्थीले खासै के पढ्ने भन्ने बारेमा योजना बनाउनुपर्ने आवश्यकता देखिँदैन । एसइईपश्चात् भने के अध्ययन गर्ने भन्ने विषयमा विद्यार्थीले विशेष ख्याल गर्नुपर्ने देखिन्छ । एसइईपछि विद्यार्थीका लागि के पढ्ने भन्ने बारेमा छनोटका विभिन्न विकल्प छन् । कतिपय कक्षा ११ र १२ अध्ययन गर्छन् । त्यसमा पनि कुन खालको कार्यक्रम पढ्ने भन्ने खालको विकल्प विद्यार्थीसँग हुने गर्छ । त्यसै गरी प्राविधिक विषयको अध्ययन गर्न चाहने विद्यार्थीका लागि भने सिटिइभिटीका विभिन्न कोर्स हुने गर्छन् । विद्यार्थीले विभिन्न माध्यमको प्रयोग गरेर, शैक्षिक व्यक्तित्वसँग सरसल्लाह लिएर एसइईपछिको गन्तव्य केलाई बनाउने भन्ने बारेमा यो समयमा योजना निर्माण गर्न सक्छन् । एसइई पछि नै विद्यार्थीको खास शैक्षिक यात्राको सुरुवात हुने भएकाले शैक्षिक योजना निर्माण महìवपूर्ण हुन्छ । योजना निर्माण गरेर विषय तथा कार्यक्रम छनोट गरियो भने विद्यार्थीलाई सफल बन्नका लागि त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । 

व्यक्तित्व विकासमा जोड : कुनै पनि मान्छेको योग्यताभित्र व्यक्तित्व पनि पर्छ । हरेक क्षेत्रमा सफल हुने या असफल भन्ने कुराको निर्धारण व्यक्तिको व्यक्तित्वले पनि गर्छ । हामीकहाँ व्यक्तित्व विकासका लागि खासै ध्यान दिइएको पाइँदैन । व्यक्तित्व विकासको महìवपूर्ण कडीका रूपमा आत्मविश्वास रहेको हुन्छ । हामीले धेरै मान्छेका विचमा आफ्नो व्यक्तित्वलाई कसरी आत्मविश्वासपूर्ण तरिकाले प्रस्तुत गर्ने भन्ने महìवपूर्ण हुने गर्छ । व्यक्तित्व विकासका लागि विभिन्न खालका तालिम पनि प्रदान गरिएको हुन्छ । त्यस्ता तालिमका माध्यमबाट बालबालिकाले आफ्नो व्यक्तित्वलाई मजबुत बनाउन सक्ने देखिन्छ । आत्मविश्वास बढाउने, उद्घोषण गर्नेलगायतका विविध खालका तालिम पनि यस अन्तर्गत पर्छन् । 

यो समयमा बालबालिकाले गर्ने क्रियाकलाप या काम पूर्णत उनीहरूको इच्छा र चाहना मुताविक हुनु पर्छ । अभिभावकले उनीहरूलाई यस्तो गर्नै पर्छ भनेर कुनै पनि खालको दबाब भने सिर्जना गर्नु हुँदैन । दबाबले बालबालिकालाई सिर्जनात्मक बनाउन सक्दैन । बालबालिकाले पनि उपलब्धिविहीन रूपमा यो महत्वपूर्ण ऊर्जावान् समय व्यतीत गर्नु हुँदैन । आजभोलि सामाजिक सञ्जालमा भुलेर, टिकटक चलाएर दिन व्यतीत गर्ने प्रवृत्ति हाबी हुँदै गएको छ । अधिक रूपमा मोबाइललगायतका डिजिटल प्लेटफर्म प्रयोग गर्दा त्यसले विद्यार्थीको मानसिक अवस्थामा समेत असरपर्ने भएको हुँदा अभिभावकले यसमा विशेष ख्याल गर्नु पर्छ । उनीहरूले मोबाइललगायत डिजिटल प्लेटफर्ममा के कुरा हेरिरहेका छन् भन्ने बारेमा अभिभावकले विशेष चासो दिनु पर्छ । 

अभिभावक र विद्यार्थी दुवैको सहकार्य र समन्वयमा एसइईपछिको समयलाई निकै नै उपलब्धिमूलक बनाउन सकिन्छ । समय हो जसरी पनि जान्छ भन्दा पनि त्यसलाई कसरी मूल्यवान् बनाउने भन्ने महत्वपूर्ण हुन्छ ।