• १९ चैत २०८१, मङ्गलबार

गरिबीका बहुआयामिक कारण

blog

मधेश प्रदेशको रौतहट जिल्लालाई मानव विकास सूचकाङ्कले दुई दशकदेखि सबैभन्दा गरिब देखाइरहेको छ । शिक्षा, स्वास्थ्य तथा आर्थिक परिदृश्य सबैमा निकै पछाडि रहेको सुगम जिल्ला रौतहट विकासको सम्भावना बोकेको भए पनि निरन्तर पछाडि पर्दै आएको छ । 

तथ्याङ्कमा रौतहट

कुल एक हजार १२६ वर्ग किलोमिटर क्षेत्रफल भएको रौतहटमा प्रति वर्गकिलोमिटर ७२३ मानिस बसोबास गर्छन् । यो उच्च जनघनत्व भएको जिल्ला हो । यहाँको जनसङ्ख्या विसं २०७८ को जनगणना अनुसार, आठ लाख १३ हजार ५७३ रहेको छ । २०६८ मा यहाँको जनसङ्ख्या छ लाख ८६ हजार ७२२ थियो । पछिल्ला दुई जनगणनाको तुलना गर्दा यहाँको वार्षिक जनसङ्ख्या वृद्धि दर १.६३ प्रतिशत रहेको छ । अर्थात्, देशको जनसङ्ख्या वृद्धिदर उच्च रहेको जिल्लामा रौतहट पनि पर्छ । यहाँ प्रतिपरिवार औसत ५.९४ जना बसोबास गर्छन् । परिवारमा सदस्य सङ्ख्याको दृष्टिकोणले देशमा यो ठुलो सङ्ख्या हो । यहाँ एक परिवारमा नौ जनाभन्दा बढी सदस्य भएको परिवार सङ्ख्या १८ हजार ४४९ रहेका छन् । रौतहटमा पुरुष साक्षरता दर ६६.०२ र महिला साक्षरता दर ४९.४८ गरी औसत साक्षरता दर ५७.७५ प्रतिशत रहेको छ, जुन देशमा सबैभन्दा कम साक्षरता दर भएको जिल्ला हो । यहाँका १८ हजार ५४७ परिवार शौचालयको पहुँचभन्दा बाहिर छन् । 

आर्थिक सव्रिmयता

देशमा करिब सबैभन्दा न्यून प्रतिव्यक्ति आम्दानी रहेको रौतहटमा १० वर्ष र सोभन्दा माथि उमेरका ९२ हजार १९३ पुरुष र एक लाख ५६ हजार ३८२ महिला आर्थिक रूपले सव्रिmय रहेका छैनन् । रौतहटमा नौ हजार ८७९ पुरुष र नौ हजार ८७७ महिला बेरोजगार रहेको तथ्याङ्क छ । विभिन्न किसिमको पेसा तथा व्यवसायमा संलग्न मानिसको सङ्ख्या पनि तुलनात्मक रूपमा निकै कम रहेको छ । आर्थिक गतिविधिले अपेक्षित सव्रिmयता नपाउँदा रौतहटको अर्थतन्त्रमा झन् असर पुगेको देखिएको छ । 

बहुआयामिक गरिबी

अलिकति पुरानो तथ्याङ्कलाई आधार मान्ने हो भने राष्ट्रिय योजना आयोग र ‘अक्फोर्ड पोभर्टी एन्ड ह्युमन डेभलेपमेन्ट इनिसियटिभ’ को सन् २०१८ को अध्ययन प्रतिवेदन अनुसार मधेश प्रदेशमा बहुआयामिक गरिबी ४७.९७ रहेको थियो । देशमा १७.७ प्रतिशत नागरिक बहुआयामिक गरिबीको रेखामुनि मानिएको अवस्थामा रौतहटमा सबैभन्दा बढी ४६.४३ प्रतिशत रहेको पाइएको छ । 

गरिबीका सूचकहरू

बहुआयामिक गरिबीका सूचकमा स्वास्थ्य, शिक्षा र जीवनस्तर पर्छन् । शिक्षा अन्तर्गत विद्यालय जाने अवधि, विद्यार्थीको विद्यालयमा हाजिरी तथा स्वास्थ्य अन्तर्गत बाल मृत्युदर र पोषण पर्छन् । यसै गरी जीवनस्तर अन्तर्गत बिजुली, सरसफाइ, खानेपानी, भुइँ र छाना, खाना पकाउन प्रयोग गरिने इन्धन तथा सम्पत्तिको स्वामित्व आदि पर्छन् । यी सबै सूचकको सूक्ष्म अध्ययन गर्ने हो भने रौतहटको अवस्था दयनीय रहेको बुझ्न सकिन्छ । यस्तै बहुआयामिक गरिबीका कारण पनि छन् । रौतहटमा बहुआयामिक गरिबी उच्च रहेको छ । देशको सबैभन्दा गरिब जिल्ला रौतहटको बहुआयामिक गरिबीलाई कम गर्न यसका कारणबारे बुझ्नु जरुरी देखिन्छ । 

स्वास्थ्य

रौतहटको स्वास्थ्य स्थिति कमजोर छ । स्वास्थ्य चेतना र स्वास्थ्य संस्था दुवै कमजोर छन् । रौतहटबाट हरेक वर्ष लाखौँ बिरामी उपचारका लागि जिल्लाबाहिर देशभित्रको अस्पताल तथा भारतीय अस्पतालमा पुग्छन् । स्वास्थ्यको क्षेत्रमा हरेक वर्ष रौतहटबाट ठुलो रकम बाहिरिने गर्छ । बाहिरबाट रौतहटमा उपचार गर्न आउने मानिसको सङ्ख्या अत्यन्त न्यून छ ।

शिक्षा

विद्यार्थी सङ्ख्याको अनुपातमा रौतहटमा शिक्षकको दरबन्दी र उपलब्धता न्यून छ । यहाँको शिक्षाको स्तर कमजोर हुनुमा अन्य कारण पनि छन् । यसैले यहाँबाट प्राथमिक तहदेखि विश्वविद्यालयसम्म अध्ययनको लागि बाहिर जाने विद्यार्थीको सङ्ख्या दसौँ हजार रहेको अनुमान छ । प्रतिविद्यार्थी वार्षिक औसतमा एक लाख रुपियाँभन्दा बढी खर्च भइरहेको अनुमानको आधारमा हरेक वर्ष अरबौँ रुपियाँ जिल्लाबाट बाहिरिएको छ । शैक्षिक भ्रमणमा रौतहटबाट विभिन्न तहमा अध्ययनरत विद्यार्थी करिब एक सय बस लिएर जिल्लाबाहिर निस्कने गरेका छन् तर जिल्लाबाहिरबाट शैक्षिक भ्रमणमा रौतहट आउने विद्यार्थीको सङ्ख्या नगन्य छ । शैक्षिक भ्रमणमा पनि रौतहटको करोडौँ रकम बाहिरिने गरेको देखिएको छ ।

धार्मिक यात्रा र पर्यटन

हरेक वर्ष करिब एक लाख मानिस रौतहटबाट भारतको देवघर, बनारस तथा अन्य तीर्थस्थलमा दर्शनका लागि जाने गरेका छन् । भारतका प्रमुख तीर्थस्थल चारधाम, वैष्णोदेवी, गङ्गासागर, रामसेतुसहित टाढा मानिएका र धेरै खर्च लाग्ने तीर्थस्थलमा पनि बर्सेनि हजारौँ रौतहटवासी पुग्ने गरेका छन् । यसरी भारतका विभिन्न तीर्थस्थलको दर्शन भ्रमणमा रौतहटबाट हरेक वर्ष अर्बाैं बाहिरिने गरेको छ । भारतको प्रयागराजमा हालै सम्पन्न महाकुम्भमा रौतहटबाट एक लाखभन्दा बढी मानिस प्रयागराज पुगेको अनुमान गरिएको छ । यस वर्षका लागि रौतहटले जिल्लाबाहिर व्यय गरेको यो थप रकम हो । रौतहटमा पर्यटन गतिविधि न्यून छ । पहिलेदेखि नुनथरले जिल्लाबाहिरबाट पनि पर्यटक तानिरहेको थियो तर नुनथर पुग्ने पर्यटक अब नजिकै रहेको सर्लाहीको भरत तालतर्फ तानिएका छन् । मौलापुरमा हुने मधानी महोत्सवमा भने अन्य जिल्ला र भारतबाट पनि केही लाखको सङ्ख्यामा मानिस पुग्ने गरेका छन् । अन्य धार्मिक तथा पर्यटकीय गतिविधिले जिल्लाबाहिरका मानिसलाई आर्थिक रूपमा सकारात्मक प्रभाव पार्ने गरी उल्लेख्य रूपमा तान्ने गरेको खासै पाइएको छैन । 

दैनिक उपभोग्य सामग्री

हरेक दिन भारतीय सीमावर्ती बजारहरूमा हजारौँ रौतहटवासी पुग्छन् । कपडा र किरानाका साथै अन्य दैनिक उपभोग्य सामग्रीको खरिद गर्न हरेक दिन करोडौँ रुपियाँ बाहिरिने गरेको छ । चामल मुख्य गरी हाफ ब्वाइल र बासमती भारतबाटै किनेर खानेको सङ्ख्या लाखौँमा रहेको छ । पारिवारिक तथा सामाजिक उत्सवहरू जस्तै पूजा, व्रतबन्ध, विवाह, यज्ञ, अष्ठजाम जस्ता अवसरका सामग्री खरिदका लागि भारतको भित्री सहरसम्म पुगेर मोटो रकम खर्च गर्ने प्रवृत्ति रहेको छ । हरियो तरकारी, गेडागुडी, फलफूल तथा ड्राई फ्रुट्समा पनि धेरै ठुलो परिमाणमा रकम बाहिरिने गरेको छ । ठुला चाडपर्वको समयमा भारतीय बजारमा पुग्ने भिडसँगै त्यहाँ खर्च हुने रकम निकै बढी हुन्छ । सौन्दर्य र सफाइसित सम्बन्धित सामग्रीहरूमा पनि भारतीय निर्भरता उच्च छ तर सीमावर्ती केही साना तथा छाप्रे होटलमा मदिरासेवन गर्ने ग्राहकबाहेक भारतबाट रौतहटमा यी र यस्ता सामग्री किन्ने ग्राहक खासै आएको पाइँदैन वा ज्यादै न्युन ग्राहक आउँछन् । यसरी रौतहटबाट भारततिर हरेक दिन करोडौँ रकम बाहिरिने गरेको देखिँदा यहाँ आउने रकमसित तुलनै गर्न नसकिने असन्तुलन रहेको छ ।

उद्योग र उत्पादन

रौतहटमा रोजगारमूलक उद्योगहरूको अभाव छ । औद्योगिक उत्पादन ज्यादै न्यून छ । जिल्लाले औद्योगिक विकास गर्न सकेको छैन । यस कारण यहाँबाट निर्यात हुने वस्तुको मात्रा न्यून छ । अत्यधिक आयात हुन्छ । आयातमा रौतहटको रकम बाहिरिन्छ । जिल्लाको मुख्य पेसा कृषि हो । समयमा पानी नपर्नु र सिँचाइको भरपर्दो व्यवस्था नहुनुका साथै समयमा रासायनिक मल उपलब्ध नहुनु, कम गुणस्तरको मलको उपयोग गरिनु र बिउबिजनमा पनि बाह्य निर्भरता हुनुले कृषि उत्पादनमा अपेक्षित वृद्धि हुन सकेको छैन । कृषि पनि व्यावसायिक र आधुनिक हुन नसकेको तथा कृषि तथा कृषिजन्य उत्पादनका उत्पादक कृषकलाई आफ्नो उत्पादनको मूल्य निर्धारणमा भूमिका नहुने भएकाले कृषिले अपेक्षाकृत आय वृद्धि गर्न सकेको छैन । 

 अन्त्यमा

रौतहट एउटा दृष्टान्त हो । मधेश प्रदेशका अन्य जिल्लाको अवस्था खासै सन्तोषजनक छैन । देशका सबै प्रदेशमध्ये मधेश प्रदेशको मानव विकास सूचकाङ्क सबैभन्दा तल रहेको छ । यति हुँदाहुँदै पनि स्वास्थ्य, शिक्षा तथा जीवनस्तरका अन्य क्षेत्रमा रौतहट निरन्तर सबैभन्दा पछाडि परिरहेको अवस्थामाथि भने विचार गर्नै पर्ने हुन्छ । जिल्लाबाहिर सेवा र श्रम गरी यहाँका नागरिकले रौतहटमा भिœयाउने रकमलाई जिल्लामै टिकाउने र उत्पादनमूलक काममा लगाउने वातावरण निर्माण हुनु आवश्यक देखिएको छ । स्वास्थ्य, शिक्षा र जीवनस्तरसित सम्बन्धित अन्य पक्षमा रौतहटलाई आत्मनिर्भर बनाउन सबै पक्षको ध्यान जानु आवश्यक देखिन्छ । 

Author

सञ्जय साह मित्र