गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १२ गते । जलवायु सङ्कटको प्रभावबाट किसान र उनीहरूको जीविकोपार्जनको सुरक्षामा जोड दिँदै २४ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेर दक्षिण एसियाली किसान सम्मेलन सम्पन्न भएको छ ।
दक्षिण एसियाका २६/२७ वटा किसान सङ्ठनका प्रतिनिधि सहभागी सम्मेलनले किसानको खाद्य सम्प्रभुता, जलवायु न्याय र अधिकार सुनिश्चित गर्न बहुराष्ट्रिय निगम र वित्तीय संस्थाहरूका जनविरोधी नीतिविरुद्ध सङ्घर्षलाई सशक्त बनाउन आह्वानसहितको घोषणापत्र जारी गरेको हो । सम्मेलनमा नेपाल, भारत, बङ्लादेश, पाकिस्तान, श्रीलङ्का, भुटान, माल्दिभ्स र अफगानिस्तानका किसान नेताहरूले आआफ्ना मुलुकका कृषि समस्या र समाधान उपायबारे छलफल गरेका थिए ।
जारी घोषणापत्रमा जलवायु प्रभावको न्यूनीकरण, अनुकूलन र क्षतिपूर्तिका नीतिमा किसानलाई केन्द्रमा राखिनुपर्ने, अन्तर्राष्ट्रिय नदी, सागर र अन्य खुला जलस्रोतलगायत साझा जलस्रोतको समतामूलक, अप्रतिबन्धित र दिगो उपयोग, पहुँच र साझेदारी सुनिश्चित गर्न उपयुक्त राष्ट्रिय तथा क्षेत्रीय नीति/सन्धि र संस्थाहरू तर्जुमा गरिनुपर्ने उल्लेख छ ।
यस्तै दक्षिण एसियामा बढ्दै गएको कृषिको सङ्कट सम्बोधन गर्न वैकल्पिक प्रस्ताव समावेश गरिनुपर्ने, जग्गाको निजी स्वामित्व कायम राख्दै सामूहिक र उत्पादक सहकारीमा जग्गाको एकीकरण, बालीको चक्लाबन्दी मूल्य अभिवृद्धिका लागि कृषि उद्योगको विकास, ब्रान्डिङ र बजार सञ्जाल, सरकारको नेतृत्वमा कृषिको विकास सुनिश्चित गर्न न्यूनतम समर्थन मूल्य र न्यूनतम ज्याला सुनिश्चित गरिनुपर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
दङ्गालको अध्यक्षतामा नयाँ नेतृत्व चयन
सम्मेलनले दक्षिण एसिया किसान महासङ्घमा डा. प्रेम दङ्गालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्ष रवुला रवुला वेंकैया (अखिल भारतीय किसान सभा), भारत, निमाइचन्द गाङ्गुली (बङ्गलादेश कृषक समिति) बङ्गलादेश, तारिक महमुद (पाकिस्तान किसान राबिता कमिटी) पाकिस्तान रहनुभएको छ । त्यस्तै महासचिवमा पुरुषोत्तम शर्मा (अखिल भारतीय किसान महासभा) भारत, सचिवमा पिभी सुन्दरा रामाराजु (अखिल भारतीय अग्रगामी किसान सभा) भारत, बद्रुल आलम (बङ्गलादेश कृषक महासङ्घ) बङ्गलादेश, सुवासिनी दिपा कमलनाथन (नेसनल फिसरिज सोलिडारिटी अर्गनाइजेसन) रहेका छन् ।
सदस्यमा पुरुषोत्तम न्यौपाने (अखिल नेपाल किसान महासङ्घ), सरिता भुसाल (महिला किसान महासङ्घ), नेपाल, बख्तियार हुसैन (जातियो कृषक समिति) बङ्गलादेश, पद्मा पास्या (अखिल भारतीय किसान सभा, भारत), रहेका छन् । बाँकी पदाधिकारी एवं सदस्यहरू पछि मनोनयन गरिने महासङ्घले जनाएको छ ।