नेपालगन्ज समाचारदाता
नेपालगन्ज, चैत १२ गते । बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता औद्योगिक क्षेत्र घोषणा भएको करिब १० वर्षपछि सोमबारदेखि सीमाङ्कन कार्य सुरु गरिएको छ । औद्योगिक क्षेत्रको सीमाङ्कनभित्र परेका घरटहरा डोजरले हटाउँदै बाटो निर्माणको काम पनि सुरु गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका–३ मा निर्माण गरिने लुम्बिनी प्रदेशस्तरीय नौबस्ता औद्योगिक क्षेत्र निर्माणका सीमाङ्कन कार्य र अवैध घरटहरा सोमबारदेखि हटाउन थालिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले बताउनुभयो ।
उहाँले सो औद्योगिक क्षेत्र निर्माणका लागि धेरै पटक प्रयास गरिए पनि त्यहाँ बसोबास गर्नेले विवाद गर्ने गरेका कारण काम अघि बढाउन नसकेकोमा गत बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले औद्योगिक क्षेत्रको जग्गा सीमाङ्कन गर्ने सहमति गरेकाले सो कार्य थालिएको बताउनुभयो ।
जग्गाको सीमाङ्कन स्वरूप मानव बस्ती र औद्योगिक क्षेत्रको जग्गाको बिचबाट बाटो खोल्न अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरिएको महाप्रबन्धक ओलीले बताउनुभयो । उहाँका अनुसार अहिले दुई वटा जेसिबी प्रयोग गरिएको छ ।
ओलीले औद्योगिक क्षेत्रबाहेकका स्थानमा कुनै पनि काम नगरिने विश्वास स्थानीयलाई दिएको जानकारी दिनुभयो । औद्योगिक क्षेत्रको सीमाङ्कन र बाटो निर्माणका लागि अवैध घरटहरा हटाउन ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सो अवसरमा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले लामो समयपछि औद्योगिक क्षेत्रको सीमाङ्कन सुरु गरिएपछि अब औद्योगिक क्षेत्र बन्ने विश्वास उत्पन्न भएको बताउनुभयो ।
२०७२ चैत १ को मन्त्रीपरिषद् बैठकले नौबस्तामा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । सरकारले पहिला ५२५ बिघा सरकारी जग्गामा बन्ने निर्णय गरेकामा हाल संशोधन गरेर ३३८ बिघा क्षेत्रफल रहने गरी जग्गाधनी प्रमाण पुर्जा बनाइएको छ ।
नक्साङ्कन अनुसार कुल ३३८ बिघामध्ये स्थानीय बासिन्दालाई ५५ बिघा, सशस्त्र प्रहरीलाई २० बिघा र क्षेत्रीय कारागारलाई १० बिघा छुट्याइएको छ । नौबस्ता औद्योगिक क्षेत्रका नाममा अब २५३ बिघा कायम हुने छ ।
औद्योगिक क्षेत्रको परियोजना सम्पन्न गर्न कुल आठ अर्ब ७७ करोड रुपियाँ खर्च लाग्ने सरकारको अनुमान छ । औद्योगिक क्षेत्रमा सडक, विद्युत्, पानी, औद्योगिक आवास, प्रशासन, सेवा, भन्सार, इन्धन पम्प, पानी प्रशोधन प्लान्ट, हेभी ट्रक पार्किङलगायतका पूर्वाधार तयार गरिने छ । नौबस्ता औद्योगिक क्षेत्रको स्वीकृत डिपिआर अनुसार त्यहाँ तीन सय उद्योग स्थापना हुने छन् ।