• १३ चैत २०८१, बुधबार

राताम्य पहरा, वसन्त बहार (फोटो फिचर)

blog

दैलेखको महावु क्षेत्र, नौमुले, गुराँसे, दुल्लु, नारायण क्षेत्रमा फुलेका थरीथरीका गुराँसहरु ।

बिशाल सुनार

दुल्लु, चैत ११ गते । दैलेख मध्यपहाडी जिल्ला हो । दैलेखका आधिकांश पहाडी थुम्काहरु यतिबेला राताम्य भएका छन् ।


वसन्त यामसँगै फेरिने पालुवाहरुले मात्र हैन राष्ट्रकै गरीमा समेत रहेको थरीथरीका लालीगुराँसका फुलहरुले पहराहरुलाई समेत सिन्दुरे बनाइदिएको छ । अक्करे कालो पत्थरिलो भिरमा समेत बान्की दिँदै फुलेको लालीगुराँसले मानौ निर्जन भित्ताहरुमा प्राण भरिदिएको छ ।


१२ देखि १५ थरिका गुराँसहरु दैलेखमा फुल्ने गरेको पाइन्छ । यद्यपी कुनै ठोस अध्ययन हुन सकेको छैन । दैलेखको गुराँस गाउँपालिकाको गुराँसे, रानिमत्ता, मालिका, गोरुजुरे लगायत दर्जनौ चुली रताम्मे छन् । 


भगवतीमाई गाउँपालिकास्थित कट्टी दराका सबै लेकाली चुचुरोहरु, दैलेख र जाजरकोट जिल्लाको सिमाना समेत बनेको सुयडा लगायत लेकाली खोरीयानहरु सबै राताम्मे र मनोरम बनेका छन् । डुङ्गेश्वर, भैरवी, ठाँटीकाध, भैरवी गाउँपालिकाका सबै लेकाली पाटनहरु । नारायण, दुल्लु, चामुण्डा बिन्दाशैनी र आठबिस नगरपालिकाका सबै लेकाली बस्तीहरु गुराँसले ढकमक्क छन् ।


तर पछिल्लो समय पहाडी खोरीयानहरुमा समेत गरिने सडक विस्तार, अतियन्त्रित फडानी, डढेलो लगायतको कारण गुराँसमा सङ्कट चुलिँदो छ ।