• ४ वैशाख २०८२, बिहिबार

टुहुराको सहारा प्रदेश सरकार

blog

स्मिता अर्जेल 

मकवानपुरगढी, चैत १० गते । अभिभावक गुमाएका टुहुरा बालबालिकाको सहारा बागमती प्रदेश सरकार भएको छ । विभिन्न कारणले आफ्ना आमाबुवा गुमाएर आफन्तकहाँ शरण लिई बस्दै आएका बालबालिकालाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामाजिक सुरक्षा भत्ता दिएर सरकारको जिम्मेवारीबोध गराएको छ । 

मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चैनपुरका ११ वर्षीय बुना प्रजा (परिवर्तित नाम) का बुवाको जन्डिसका कारण मृत्यु भएपछि मामाघरमा बस्दै आउनुभएको छ । सात वर्षको उमेरमा बुवा गुमाएका उहाँलाई आमा सीता प्रजाले पनि छोडेर गएपछि दाजु विकेश, मामामाइजू र वृद्ध हजुरआमाको संरक्षणमा बस्दै आउनुभएको हो । उहाँकी माइजू मनीषाले भन्नुभयो, “हामीलाई समस्या पर्दासमेत यही पैसा चलाउँछौँ । गत जेठमा हामीले गाउँपालिकाबाट दाजुबहिनीको गरेर ४८ हजार रुपियाँ बुझेका थियौँ । सो रकमले हामीलाई घरखर्चमा पनि सहज भएको छ ।”

यस्तै ६१ वर्षीय अम्बिका क्षेत्रीले दुई नातिलाई संरक्षण गर्दै आउनुभएको छ । नाति सुमन र सुसनलाई उहाँले संरक्षण दिनुभएको हो । मधेश प्रदेशको सिराहा, मिर्चैया नगरपालिकाका स्थायी बासिन्दा उहाँहरूलाई आमाबाबुको अकाल मृत्यपछि हजुरआमाको सहारामा बाँच्न बाध्य बनाएको छ । हजुरआमाकै आश्रयमा उहाँहरूले विद्यालयमा अध्ययन गर्दै आउनुभएको छ । प्रदेश सरकारले नै अध्ययनका लागि खर्च दिँदै आएको छ । दुई दाजुभाइले वार्षिक ४८ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ताबापत बुझिरहनुभएको छ ।  अभावैअभावबाट गुज्रिरहेको यो परिवारले त्यही पैसाका आधारमा जीवन चलाउँदै आएको हो ।

उहाँहरू मात्र होइन, उहाँहरूजस्तै अभिभावक गुमाएर बेसहारा बनेका अन्य बालबालिका अहिले आफन्तको शरणमा बस्दै आउनुभएको छ । यस्ता अभिभावकविहीन भएका बालबालिकालाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सहारा दिने काम गर्दै आएको छ । मन्त्रालयले उपलब्ध गराउने ससर्त अनुदान अन्तर्गतको जनही वार्षिक २४ हजार रुपियाँले बुना र दाजु विकेशले अध्ययन गर्दै आउनुभएको छ । उहाँहरूको पालनपोषण र शिक्षादीक्षाको सामान्य आवश्यकता परिपूर्तिका लागि मन्त्रालयबाट आएको रकम गाउँपालिकाले वितरण गर्ने गरेको छ । सामाजिक विकासमन्त्री हरिप्रभा खड्कीले स्रोत वृद्धिका लागि प्रदेश सरकारले पालिका अध्यक्षसँग छलफल प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । आमाबाबुविहीन बालबालिकाको खोजीमा स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने मन्त्री खड्कीले बताउनुभयो । 

सामाजिक विकास मन्त्रालयले प्रत्येक वर्ष मासिक दुई हजार रुपियाँका दरले वार्षिक रूपमा जनही २४ हजार रुपियाँ अनुदान उपलब्ध गराउँदै आएको छ । उक्त अनुदान स्थानीय सरकारसँगको समन्वयमा बालबालिकालाई दिने गरिएको छ । बाबुआमाविहीन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा प्रदेशका १३ जिल्लामा एक हजार १६८ बालबालिकालाई समेटिएको थियो । जसमा दुई करोड ८३ लाख ६८ हजार रुपियाँ संरक्षण कार्यक्रममा खर्चेको थियो ।

आव २०८०/८१ मा मन्त्रालयले १३ जिल्लाका एक हजार १६८ बालबालिकालाई दुई करोड ८३ लाख ६८ हजार रुपियाँ यस कार्यक्रममा खर्च गरेको छ । यस्तै चालु आवमा २०८१/८२ मा मन्त्रालयले यस कार्यक्रम अन्तर्गत तीन करोड ५६ लाख १६ हजार रुपियाँ छुट्याएको छ । यस अन्तर्गत एक हजार ४८४ जनाले लाभ लिएका छन् । पछिल्लो तीन आवमा सबैभन्दा बढी अभिभावकविहीन बालबालिका भएको जिल्ला मकवानपुर र सबैभन्दा कम भएको जिल्ला भक्तपुर रहेको छ । 

बाबुआमा दुवै गुमाई हेरचाह गर्ने कोही नभएका र बाबुआमामध्ये एक भए पनि पालनपोषण गर्न सक्षम नभएका वा बेवारिसे बालबालिका पहिचान गरी दुरुस्त अभिलेख राख्ने नीति सरकारले लिएको छ । बालबालिकाका आफ्नै आमाबाबु वा नातेदारबाट हेरचाह कार्य प्रवर्धन गर्न पारिवारिक सहयोग वृत्ति, व्यावसायिक तालिम, जीविकोपार्जन तथा पालनपोषण भत्ता कार्यक्रम सरकारले सञ्चालन गर्दै आइरहेको छ ।